
काठमाडौं, असार १९ । राष्ट्रियसभामा ‘विनियोजन विधेयक–२०७६ का विभिन्न शीर्षकमाथिको छलफल सकिएको छ ।
विनियोजन विधेयक २०७६ का विभिन्न शीर्षकमाथि भएको छलफलमा सांसदले उठाएको जिज्ञासाको शुक्रबारदेखि सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् ।
सम्बन्धित मन्त्रीलाई जवाफ दिनका लागि यही असार २०, २२ र २३ गतेको दिन निर्धारण गरिएको छ ।
बिहीबारको बैठकमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले बजेट निर्माणमा अर्थ मन्त्रालयको एकाधिकार अन्त्य गर्नुपर्ने बताए ।
उनले बजेट निर्माणमा अर्थ मन्त्रालयको एकाधिकार अन्त्य गरी अन्य मन्त्रालयलाई पनि भूमिका दिनुपर्ने बताए ।
सांसद देवले अर्थ मन्त्रालयको एकाधिकार तोड्ने र मुख्य योजनामा प्रदेश सरकारको धारणा लिने नीति नबनाएसम्म बजेटको अर्थ नहुने जिकिर गरे ।
बैठकमा सत्तारुढ दल नेकपाका सचेतक खिमलाल भट्टराईले सरकारले तस्करी गर्नेका लागि ढोका बन्द गरेको दाबी गरे ।
उनले संघीय सरकारले ठूला योजनाका काम अघि बढाएर स्थानीय सरकार र केन्द्रलाई पनि बलियो बनाउन ध्यानकेन्द्रित गरेको दाबी गरे ।
विनियोजन विधेयकमाथिको छलफलमा कांग्रेस सांसद रमेशजंग रायमाझीले ‘विनियोजन विधेयक–२०७६ अन्तर्गत् रक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा एक रुपैयाँ घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव पेस गरेका छन् ।
विनियोजन विधेयक–२०७६ अन्तर्गत् राष्ट्रियसभाको बिहीबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय शीर्षकमा विनियोजन विधेयकमाथि छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्