
-प्रदिप पौडेल/ ईमेज
पोखरा । उत्तर भारतको पर्यटकीय राजधानी लखनउ र आगराका व्यवसायीले ती शहर र पोखराबीच सिधा बस सेवा संचालनका लागि सुझाव दिएका छन् ।
सिधा बस सेवा भए भारतीय नागरिकलाई पोखरा पुग्न सहज हुने उनीहरुको भनाइ छ ।
बोर्डर टाउन सेल्स मिसनअन्तर्गत चलिए पोखरा अभियान चलाइरहेको पश्चिमाञ्चल होटल संघ पोखराको अगुवाइमा भारतका विभिन्न शहरमा पुगेका पोखराका पर्यटन व्यवसायी टोलीसँग आगराका व्यवसायीले पोखरा पुग्न सडक र हवाई मार्गको विषय उठाएका छन् ।
संघले नेपाल पर्यटन बोर्डसँग मिलेर आगरामा आयोजना गरेको अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा बस व्यवसायी, नेता तथा होटल व्यवसायीले पोखरा–दिल्ली सिधा बस सेवा जस्तै आगरालाई पनि त्यस्तो सेवामार्फत् पोखरासँग जोड्न आवश्यक भएको बताएका छन् ।
उनीहरुले पोखरा र काठमाडौं लगायतका शहरहरु निकै सुन्दर रहेको भन्दै भारतीयले ती शहरको भ्रमण गर्नुपर्ने सुझाएका छन् ।
उत्तर भारतमा चर्को गर्मी भएकाले चिसो मौसममा रमाउनका लागि पोखरा आउन भारतीयलाई आग्रह गरे ।
उनले पर्यटकलाई लक्षित गरी विभिन्न प्याकेज भारतीय पर्यटकका लागि व्यवस्था गरिएको जानकारी दिए ।
संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले भारतीय पर्यटकका लागि पोखरा उपयुक्त गन्तव्य भएकाले आफुहरु स्वागतका लागि उत्सुक रहेको बताए ।
बोर्डर टाउन सेल्स् मिसन अन्तर्गतको सम्मेलन, र दुई देशका पर्यटन व्यवसायीबीचको सहकार्यले पोखरामा भारतीय पर्यटकको चाप वढेको छ ।
गतबर्ष ११ लाख ७३ हजार भन्दा बढी विदेशी पर्यटक हवाईमार्गमार्फत् नेपाल प्रवेश गरका थिऐ । तीमध्ये भारतीयको संख्या दुई लाखभन्दा बढी रहेको छ ।
उत्तर भारतमा अहिले ४३ डिग्री हाराहारीको तापक्रम भएका बेला त्यहाँका बासिन्दाका लागि पोखरा र वरपरका स्थलहरु गर्मी छल्ने उपयुक्त गन्तव्य बन्न सक्छ ।
गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङ जिल्लाको मुक्तिनाथको दर्शन गरेपछि र चलिए पोखरा अभियानका कारण पनि भारतीय पर्यटक नेपाल आउने क्रम बढेको छ ।
सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल वनाउन छिमेकी मुलुक भारतमा ब्यवसायीले थालेको अभियान राम्रो भएपनि विदेशी मुलुकमा सरकारले थप प्रचार प्रसार गर्न सके भ्रमण वर्ष सफल हुने थियो कि !
प्रतिक्रिया दिनुहोस्