
पेरिस, असोज १० । विश्वभर महामारीकारुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या नौ लाख ९३ हजार ७७० पुगेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड २७ लाख ८३ हजार पुगेको छ ।
कुल संक्रमितमध्ये दुई करोड ४१ लाख ८४ हजार निको भएका छन् भने करिब ७६ लाख मानिस सक्रिय संक्रमित छन् ।
विश्वभर अझैपनि ६३ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।
पेसा, व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७२ लाख ४४ हजार नाघिसकेको छ ।
कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ८ हजार भन्दा बढीको मृत्यु भएको छ ।
विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ५९ लाख संक्रमित भएका छन् भने यहाँ ९३ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
त्यस्तै, ब्राजिलमा करिब ४७ लाख व्यक्ति संक्रमित भएकामा एक लाख ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।
खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजारभन्दा बढीको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ ।
युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्