१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


एकीकृत भन्सार जाँच बिन्दु अन्तिम चरणमा, भारतसँगको आयात-निर्यात सहज हुने


0
Shares

-ध्रुव भट्टराई/ईमेज

विराटनगर । मोरङको बुधनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँच बिन्दू(आईसीपी) आगामी भदौदेखि संचालनमा आउने भएको छ ।

भारततर्फ आईसीपी सञ्चालनमा आएको तीन वर्षपछि ढिलै भए पनि नेपालतर्फको बुधनगरमा निर्माणाधीन आईसीपी सञ्चालनको तयारी हुन लागेको हो ।

नेपाल र भारतबीच भएको सम्झौता अनुसार आइसीपी सन् २०१४ भित्र निर्माण सम्पन्न भएर दुवैतर्फ संचालनमा आइसक्नुपर्ने थियो ।

तर, नेपाल तर्फको आइसीपी निर्माण कार्यमा भएको ढिलाइका कारण करिब पाँच बर्षपछि बुधनगरमा निर्माणाधीन सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको ‘जोइन्ट इन्डिग्रेडेड चेकपोस्ट (आइसिपी) संचालनमा आउन लागेको हो ।

भारतले आफ्नो भूमि जोगबनीको भेडियारीमा १४ सय मिटर लम्बाइ र पाँच सय मिटर चौडाइ बराबरको आइसिपी निर्माण गरेर तीन वर्षअघि नै संचालनमा ल्याएको छ ।

नेपालले आइसिपी निर्माणको लागि आवश्यक जग्गा हस्तान्तरण गर्न नसक्दा निकै ढिला गरी सन् २०१७ फेब्रुअरी १ देखि शुरु भएको थियो ।

भारत सरकारबाट ठेक्का पाएको दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फ्रा डटकम अहमदावादले दुई बर्ष भित्रै निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गर्ने गरी काम अघि बढाइएको भए पनि निर्माणको काम शुस्त हुँदा समय लम्बिएर करिब ३० महिना पुगेको छ ।

अहिले भने भारतीय पक्षले १ सय २९ बिघा क्षेत्रफलमा रहेको आईसीपी निर्माणको सम्पूर्ण काम सम्पन्न गरी आगामी अगष्ट १५ मा नेपाललाई हस्तान्तर गर्ने तयारी गरेको संघीय आयोजना कार्यान्वयन इकाई मोरङका इन्जिनियर राजु शर्मा बताउँछन् ।

भारततर्फको आईसिपीको डिजाईन अनुसार नेपाल तर्फको संरचना पनि उस्तै बनाइएको छ । नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइको आइसीपी रहेको छ ।

यसका लागि १२९ बिघा र लिंक रोडका लागि ४० बिघा जग्गा छुट्याइएको छ ।

यसमध्ये ४० विघामा ४३ सय २० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माण पूरा भएको छ ।

लिङ्क रोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर–दक्षिणी राजमार्गसँग जोडिएको छ ।

आइसिपी सञ्चालनमा आएपछि कृषि तथा पशु क्वारेन्टाइन, आयात–निर्यात जाँचमा सहजता, दुई हजारसम्म गाडी अटाउने पार्किङस्थल, सुविधासम्पन्न भवन, अध्यागमन, पर्यटन कार्यालय, सुरक्षा चौकी, अटोमेटिक तौल काँटालगायत भन्सारबाट हुने सबै काम एकै ठाउँमा हुने विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मिमांश अधिकारी बताउँछन् ।

आइसिपी सञ्चालनमा आएपछि रानी नाकाबाट गरिने आयात–निर्यात सहज र सहुलियतपूर्ण हुने मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवन सारडा बताउँछन् ।

दुई देशबीचको आयात–निर्यात सरल र सहज बनाउन सन् २००४ मा मुख्य नाकाहरु वीरगंज, भैरहवा, विराटनगर र नेपालगंजमा आइसिपी निर्माण गर्ने सहमति भएको थियो ।