
-डम्मर बहादुर बुढाथोकी/ईमेज
बाग्लुङ । बागलुङको काठेखोला गाउँपालिकास्थित बिहुँका किसान व्यावसायिक सुन्तलाखेतीतर्फ आकर्षित भएपछि गाउँ नै सुन्तलाले ढाक्न थालेको छ ।
अधिकांश युवा जनशक्ति विदेश होमिएपछि सुन्तलाखेतीमा लागेका स्थानीय अपेक्षित आम्दानी हुँदा यसबाट निकै सन्तुष्टसमेत छन् ।
बागलुङको बिहुँगाउँको सुन्तला बगान फैलिएर जंगलजस्तै हराभरा बन्न थालेको छ ।
सुन्तलाका रुखहरुको बीच–बीचमा देखिने रातो माटो र सेतो कमेरोले पोतेका घरहरु सुन्तलाको रुखहरुले गाउँ नै रमणीय भएको छ ।
केही समय पहिले कोदो, मकै, धान, तोरी लगाउने बारीहरु सुन्तला बगानले ढाकिएका छन् । सुन्तलाको बोट नभएको घर भेट्याउन नै गाह्रो पर्छ ।
खेतबारीमा काम गर्ने युवा शक्ति विदेश पलायन भएपछि सुन्तलाखेतीमा संलग्न भएका स्थानीयले यसबाट मनग्गे आम्दानी समेत गर्न थालेका छन् ।
खाद्यान्न बालीको लागि गोडमेल, सिँचाइ, खनजोत गर्नुपर्ने झन्झट हुने, खासै मेहनेत गर्न नपर्ने भएकाले यसतर्फ आकर्षण बढेको हो ।
सुरु–सुरुमा उत्पादन भएका सुन्तलाले बजार नपाए पनि पछिल्लो समय बजार पाउन थालेकाले यसबाट सन्तुष्ट रहेको स्थानीय बालानन्दा कँडेलको भनाइ छ ।
गाउँको आधाभन्दा बढी क्षेत्रफलमा गरिएकोे व्यवसायिक सुन्तलाबाट वर्षेनी ३ करोडभन्दा बढी आम्दानी भित्रिने गरेको छ ।
सुन्तलाको लागि अनुकूल वातावरण रहेको र गत वर्ष आफूले तीन लाख रुपैयाँको सुन्तला विक्री गरेको अर्का किसान टिकाराम कँडेल बताउँछन् ।
गाउँको फापरचौर, इनारपानी, चक्रेडाडाँ, किम्बोट, चिरपानीलगायतका स्थानहरुमा सुन्तला खेतीको विस्तारका लार्गि अन्य रुखविरुवा काटिएको छ ।
सुन्तला खेतीलाई अझ व्यवस्थित बनाउन किसानहरुलाई चार समूहमा बाँडेर स्तरीकरण गरिएको काठेखोला गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष युक्त प्रसाद कँडेलको भनाइ छ ।
गाउँमा लगाइएका ४० हजार सुन्तलाका विरुवामध्ये अहिले झण्डै २५ हजार विरुवाले उत्पादन दिन सुरु गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्