काठमाडौं, असार १७ । ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’को ‘पिपल्स च्वाइस अवार्ड’ भलिबलकी राष्ट्रिय खेलाडी रेश्मा भण्डारीले जितेकी छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार राजधानीमा आयोजना गरेको पुरस्कार घोषणा समारोहमा रेश्माले बाजी मारेकी हुन् ।
एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा उनले क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जनलाई पछि पारिन् ।
सावित्रा ‘वर्ष महिला खेलाडी’
त्यस्तै, ‘वर्ष महिला खेलाडी अवार्ड’ नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले जितेकी छन् ।
सावित्राले भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङलाई पछि पारेकी हुन् ।
युकेश ‘वर्ष पुरुष खेलाडी’
त्यस्तै, पाराग्लाइडिङका युकेश गुरुङले ‘वर्ष पुरुष खेलाडी अवार्ड’ जितेका छन् ।
युकेश इन्डोनसियामा भएको १८औं एसियाली खेलकुदअन्तर्गत् पाराग्लाइडिङको पुरुष टिम क्रसकन्ट्रीमा नेपालले ऐतिहासिक रजतपदक जित्दा टोलीका महत्वपूर्ण खेलाडी थिए ।
यस विधाको मनोनयनमा युकेशसँगै क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रराज राई र जुडोका ईन्द्रबहादुर श्रेष्ठ परेका थिए ।
वर्ष प्रशिक्षक अवार्ड पाराग्लाइडिङका योगेशले जिते
त्यस्तै, ‘वर्ष प्रशिक्षक अवार्ड’ पाराग्लाइडिङका योगेश भट्टराईले जितेका छन् । यो विधानमा भट्टराईले क्रिकेटका जगत टमाटा, एथ्लेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरि खड्का मनोनयनमा परेका थिए ।
अजितकुमार युवा खेलाडी
एथ्लेटिक्सका अजितकुमार यादव ‘युवा खेलाडी’ घोषित भएका छन् ।
अजित हङकङमा सम्पन्न तेस्रो एसिएन युथ एथलेटिक्स च्याम्पियनसिपको तीन हजार मिटर दौडका कीर्तिमानी स्वर्णपदक विजेता खेलाडी हुन् ।
यस विधामा अजितसहित ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जलीकुमारी योञ्जन र कराँतेका विजय श्रेष्ठ मनोनयनमा परेका थिए ।
‘टिम अफ दी इयर अवार्ड’ पाराग्लाइडिङको पुरुष टोलीको पोल्टामा
‘एनएसजेएफ टिम अफ दी इयर अवार्ड’ पाराग्लाइडिङको पुरुष टोलीले जितेको छ ।
पाराग्लाइडिङको पुरुष टोलीले इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदमा नेपाललाई रजतपदक दिलाएको थियो ।
एसियाली खेलकुदमा नेपालले २० वर्षपछि रजत जित्दा टिम स्पर्धामा पहिलोपटक पदक जितेको थियो ।
हरिबहादुरलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
यस्तै, एथ्लेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया ‘एनएसजेएफ लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् ।
मनकेसी ‘पारा वर्ष खेलाडी’
नेपाली राष्ट्रिय महिला नेत्रहीन क्रिकेट टोलीकी अलराउन्डर मनकेसी चौधरी ‘पारा वर्ष खेलाडी’ घोषित भएकी छन् ।
रोहितलाई ‘पल्सर स्पेसल अवार्ड’
त्यस्तै, नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द ‘एनएसजेएफ पल्सर स्पेसल अवार्ड’बाट सम्मानित भएका छन् ।
नेपाली टोलीका नियमित सदस्य रोहित इन्डोनेसियाको पर्सिजा जाकार्ताबाट व्यावसायिक खेल खेल्दै आएका छन् ।
पहिलोपटक मञ्चले प्रदान गरेको ‘इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड’बाट अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपीएस)का महासचिव अम्जद अजिज मल्लिक सम्मानित भएका छन् । मल्लिक पाकिस्तान खेलकुद राइटर्स एसोसियसनका अध्यक्षसमेत हुन् ।
विभिन्न १० विधामा भएको पुरस्कारअन्तर्गत् पिपल्स च्वाइस, वर्ष उत्कृष्ट खेलाडी पुरुष तथा महिला र वर्ष प्रशिक्षकले एक/एकओटा पल्सर मोटरसाइकल पाएका छन् ।
युवा वर्ष खेलाडी, पारा एथ्लिट, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र टिम अफ दी इयर तथा इन्टरनेसनल एशियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विजेताले जनही ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
पुरस्कार वितरण समारोहमा विभिन्न सांगीतिक कार्यक्रमसमेत प्रस्तुत् गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्