५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


खेत बेचेर पाइलट बनेका छन् तर हवाईजहाज छुन पनि पाउँदैनन् : प्रधानमन्त्री


0
Shares

काठमाडौं, असार १७ । ‘खेत बेचेर पाइलट बनेका छन् तर हवाईजहाज छुन पनि पाउँदैनन् । पढेको प्रमाणपत्र काम नलागेपछि ऊ समाजमा हेपिन्छ ।’

मुलुकका शैक्षिक बेरोजगारी र जनशक्ति प्रक्षेपणबीचको तालमेलन नमिलेकामा लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने–‘हलो जोतेर खाने खेत पनि छैन । हवाईजहाज पनि छैन ।’

पाइलटका लागि मुलुकमा आवश्यकभन्दा बढी जनशक्ति भएकाले उनीहरुले तत्कालै रोजगारी पाउने स्थिति नभएको प्रधानमन्त्री ओलीको जिकिर थियो ।

शिक्षाशास्त्र धेरैले पढे पनि उत्पादित जनशक्ति शिक्षण पेसामा खपत नभएको उल्लेख गर्दै उनले भने–‘तालिमहरु चलाउँदा कामसँग जोडेर दिनुपर्छ । रोजगारी, उत्पादन र आवश्यकतासँग नजोडिएको शिक्षा काम लाग्दैन । काम लाग्ने दक्ष जनशक्ति उत्पादनमा हाम्रा विश्वविश्वविद्यालयहरु लाग्नुपर्छ ।’

पोखरा विश्वविद्यालयको २०औं साधारणसभालाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति प्रधानमन्त्री ओलीले राष्ट्रिय नीति र योजनानुसार विश्वविद्यालयले नीति, कार्यक्रम र योजना अघि सारेर समृद्धिको लक्ष्यलाई सघाउनुपर्नेमा जोड दिए ।

विश्वविद्यालयका पदाधिकारीलाई उनले निर्देशन दिँदै भने–‘अन्धाधुन्ध सम्बन्धन नदिनोस् । जहाँ नाफा हुन्छ, त्यहाँ कलेज खोल्ने होइन । कहाँ–के विषय आवश्यक छ भन्ने आधारमा निर्णय गर्नोस् । शिक्षाशास्त्रको स्वीकृति माग्न आए नदिनोस् । सम्झाएर पठाउनोस् । अर्काे विषय पढ्न भन्नोस् । प्राविधिक विषयमा जानोस् ।’

कतिपय विश्वविद्यालयले आर्थिक चलखेलका आधारमा आवश्यकताको पहिचान नगरी सम्बन्धन दिएको पाइन्छ ।

जनशक्ति प्रक्षेपणसम्बन्धी कार्यदलले आइतबारमात्रै प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएको थियो ।

उनले सो प्रतिवेदन अध्ययन गरी लागू गरिने जानकारी दिँदै त्यसैका आधारमा विश्वविद्यालयको शैक्षिक कार्यक्रम आउनुपर्ने बताए ।

उनले उन्नत परिपाटी अपनाएर आजको दुनियाँको प्रतिस्पर्धीस्तरमा विकास गर्ने प्रकारको पद्धति र नीतिका आधारमा राष्ट्रिय आवश्यकता र आकांक्षा पूरा गर्ने शैक्षिकपात्रो र विधि लागू गर्न पनि आग्रह गरे ।

‘कृषि पढाउने हो भने खेतबारीमा पढाउनोस् । मत्स्यपालन पढाउनु छ भने पोखरीमा विद्यार्थीलाई लानोस्’–प्रधानमन्त्री ओलीको प्रश्न छ–‘भारी बोक्नेले भारी बोकेर खान्छ । जब ऊ विश्वविद्यालय जान्छ, गिटी कुट्न छाड्छ । मैले एकपटक प्राध्यापकहलाई भनेको थिएँ, तपाइँहरुका हातमा परेपछि विद्यार्थी बेरोजगार हुन्छन् । यस्तो अवस्था किन हुन्छ ?’

कुलपति ओलीले लाखौं जनशक्ति विदेश गइरहेको तर शिक्षा, सीप र दक्षताको आवश्यकता भएको युवाशक्तिको समुचितरुपमा प्रयोग हुन नपाएको जनाउँदै सस्तो श्रमबजारमा युवा जानु दुःखद् भएको उल्लेख गरे ।

‘यसलाई बदल्ने योजना बनाउने ठाउँ विश्वविद्यालय नै हो । नेपाल विश्वविद्यालय स्थापनामा केही पछिपरेको छ तर विश्वमा विश्वविद्यालय खुल्नुभन्दा अगाडि नेपाल नै ज्ञानको केन्द्र थियो । त्यस्ता ज्ञान र सीपलाई राष्ट्र निर्माणमा उपयोग गर्न सकिएको छैन । अब यो बदल्नुपर्छ ।’

सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति गिरिराजमणि पोखरेलले पनि जनशक्तिको प्रक्षेपण र प्राविधिक शिक्षाको प्राथमिकताका आधारमा नीति ल्याउन विश्वविद्यालयलाई आग्रह गर्दै अव्यवस्थित जनशक्ति उत्पादन हुने प्रकारले नजान आग्रह गरे ।

विश्वविद्यालयका उपकुलपति चिरञ्जिवी शर्माले प्रस्तुत् गरेको विश्वविद्यालयको आगामी आर्थिक वर्षको नीति–कार्यक्रमलाई सहकुलपति पोखरेलको निर्देशनानुसार आउँदो कार्यकारी परिषद् बैठकले पारित गर्ने भएको छ । उपकुलपति शर्माको कार्यकाल दुई महिना बाँकी छ ।

सो विश्वविद्यालयमा हाल चार क्याम्पसका संकायमा गरी ३२ हजार विद्यार्थी छन् ।

नीति–कार्यक्रममा आगामी दुई वर्षभित्र विद्यार्थी संख्या ५० हजार पुर्‍याउने लक्ष्य छ । विश्वविद्यालयले प्यारामेडिकल कोर्षहरुको सन्चालनका लागि पोखरा शिक्षण अस्पताल निर्माण गर्ने, व्यवसायमूलक कृषि विषय र कार्यक्रम चलाउने, दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले कृषि संकाय स्थापना गर्ने, चारै संकायमा एमफील लिडिङ पीएचडी कार्यक्रम सन्चालन गर्ने, सेवा आयोग स्थापना गर्नेलगायत योजना प्रस्तुत् गरेको छ ।

विश्वविद्यालयमा बिजिनेस तथा व्यवस्थापन, इन्जिनियरिङ तथा विज्ञान प्रविधि, हेल्थ र एलाइड तथा स्वास्थ्य विज्ञान र विकास तथा सामाजिक इन्जिनियरिङ, मानविकी एवं सामाजिकशास्त्र अध्ययन संकाय छन् ।

विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्माले गरेको आगामी आर्थिक वर्षका लागि रु ९९ करोड ५० लाख ९० हजारको बजेट प्रस्तावलाई सभाले पारित गरेको छ ।

विश्वविद्यालयको चालू आर्थिक वर्षमा रु ८६ करोड २९ लाख बजेट अनुमान गरिएकामा रु ५३ करोड २५ लाख १६ हजार खर्च हुने संशोधित अनुमान छ । रासस