५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


‘गोल्डमेडल’ किनबेचः त्रिविको ‘शिक्षा प्रणालीमाथि नै प्रश्न’


0
Shares

काठमाडौं, असार १७ । त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थीलाई दिइने ‘गोल्डमेडल’ किनबेच हुने गरेको खुलासा भएपछि मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा छलफल भएको छ ।

त्रिवि उपकुलपति, रेक्टर र रजिष्टारको उपस्थितिमा भएको छलफलमा समितिमा सदस्यहरुले गोल्डमेडलका लागि नम्बर थप्ने र किनबेच गर्ने घटनाबाट त्रिविको शिक्षा प्रणालीमाथि नै प्रश्न उठेको बताए ।

मिहिनेत गरेर ‘मेरिट लिस्ट’मा परेर पढ्ने विद्यार्थीलाईसमेत यसले असर पुर्‍याएको भन्दै उनीहरुले यस्ता घटना पहिला पनि भएको होला भन्दै चिन्ता व्यक्त गरे ।

त्रिवि पदाधिकारीको मिलेमतोमा नम्बर थपेर गोल्डमेडल लिने घटनाका सम्बन्धमा ठोस कदम चाल्नुपर्नेमा उनीहरुको जोड थियो ।

छलफलमा त्रिभुवन विश्वविद्यालयका रजिष्टार डिल्लीराम उप्रेतीले घटना छानबिनकोक्रममा नै रहेको र यस्ता घटना रोक्ने काम अगाडि बढिसकेको बताए ।

समितिकी सभापति जयपुरी घर्तीले गोल्डमेडल किनबेचको घटनालाई समितिले गम्भीररुपमा लिएको भन्दै कमजोरी कहाँबाट भएको हो, त्यसलाई सुधार गर्नुपर्ने बताइन् ।

मानविकी संकायअन्तर्गत् अर्थशास्त्रको स्नातकोत्तरको परीक्षामा अनुत्तीर्ण भएका सुरेन्द्र कोइरालाले परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीलाई आर्थिक प्रभावमा पारी गोल्डमेडल हात पारेको खुलासा भएको थियो ।

९ नम्बर आएका उनले अगाडि ६ नम्बर थपेर ६९ बनाइ गोल्डमेडल लिएको सार्वजनिक थियो ।

यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ ।