
काठमाडौं, असोज ७ । संसदीय समितिले दिएका निर्देशनहरु सबन्धित निकायले जिम्मेवारीपूर्वक कार्यान्वयन नगरेको सांसदहरुले आरोप लगाएका छन् ।
संघीय संसद प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले यस अघि दिएका विभिन्न निर्देशनहरुको कार्यान्वयनको अवस्थाको विषयमा छलफल गर्न राखेको बैठकमा सांसदहरुले निर्देशनहरुको कार्यान्वयन नभएको बताएका हुन् ।
समितिले दिएका निर्देशनहरुको कार्यान्वयनको विषयमा गम्भिर समिक्षा गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले समितिको बैठकमा उपस्थित भएर मन्त्रीहरुले नै गलत रिपोर्टिङ दिने गरेकाले निर्देशनहरुको कार्यान्वयन जिम्मेवारीपूर्वक हुन नसकेको आरोप लगाउनुभयो ।
नेपाली कांग्रेसकी सांसद रगंमती शाहीले पछिल्लो समय कोभिडको बाहना बनाएर काम नगर्ने प्रवृति बढेको बताउनुभयो ।
हुम्ला जिल्लामा कोभिडको असर नपरेपनि कर्णाली कोरिडोरको काम रोकिनु त्यसैको उदाहरण भएको भन्दै समितिले त्यस्ता विषयलाई पहिलो प्राथमिकतामा राखेर गम्भिररुपमा निर्देशन दिनुपर्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद केदार सिग्देलले कुनैपनि आयोजना गुणस्तरीय भए नभएको सम्बन्धमा समितिले दिएको निर्देशनहरु अहिले सम्म पनि कार्यान्वयन नभएको देखिएको बताउनुभयो ।
त्यस्तै आयोजनाको वर्गीकरण प्रष्ट नभएकाले संघ, प्रदेश र स्थानीय तहको प्रावधान स्पष्ट पार्न यस अघि दिएको निर्देशन अहिले सम्मपनि कार्यान्वयन नभएको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद यज्ञराज सुनुवारले अयोग्यहरुका लागि कोभिड १९ बाहना बनेको बताउनुभयो ।
कुनैपनि निर्माण कार्य समयमा गर्न अयोग्य कम्पनी तथा निकायले कोभिडलाई बाहना बनाएर काम नगरेको उहाँको भनाइ थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद ईन्दुकुमारी शर्माले सबैभन्दा बढी समस्या भौतिक पूर्वाधार क्षेत्रमा रहेको बताउनुभयो ।
यस अघि समितिले दिएका निर्देशनहरु सबैभन्दा बढी भौतिक पूर्वाधार अन्तर्गत नै कार्यान्वयन नभएको उहाँले बताउनुभयो ।
बैठकमा सांसदहरुले कोभिडलाई कारण देखाउँदै काम नगर्ने प्रवृतिको अन्त्यका लागि समितिले उपसमिति गठन गरी अनुगमन गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्