
काठमाडौं, असार १६ । साझा यातायात, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाबीच विद्युतीय बस सन्चालन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, प्रदेश नम्बर–३ सरकारका आर्थिक मामिलामन्त्री कैलाश ढुंगेल र साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले संयुक्तरुपमा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
विद्युतीय बस आगामी आर्थिक वर्षबाटै चल्नेगरी सम्झौता भएको हो ।
साझा यातायातलाई विद्युतीय बस किन्नका लागि ललितपुर महानगरपालिकाले दुई करोड ५० लाख र प्रदेश–३ सरकारले ३० करोड रुपैयाँ पनि प्रदान गरेको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जनताबाट कामै नभएको भन्दै आरोप लागिरहेको समयमा बिजुली बस ल्याएर ताली पाउने काम गरेको बताए ।
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकार विकासको बाटोमा लागेको र नयाँ अभियानको सुरुआत गरेको बताए ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूहरुको योजनाअनुसार नै उपत्यकामा बिजुली बस चलाउन लागेको बताए ।
थप २० नयाँ बस
यसैबीच, साझा यातायातले काठमाडौं उपत्यकामा वातावरणमैत्री ‘युरो ४’ मापदन्डका थप २० ओटा नयाँ बस ल्याएको छ ।
यस्तै, साझा यातायातले यात्रीहरुको सहजताका लागि ‘नेपालमन्डल’ यात्राकार्डको पनि सुरुआत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्