निःस्वार्थ रुपमा समाजसेवामा लाग्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, असोज ६ । प्रधानमन्त्री केपी ओलीले समाजसेवीहरुलाई निःस्वार्थ भावले सेवामा जुट्न निर्देशन दिनुभएको छ।
४१ औँ सामाजिक सेवा दिवसका अवसरमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताउनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘सच्चा समाजसेवी आफूले केही पनि लिँदैनन्, अरुको सेवा गर्छन्, समाजसेवाका नाममा हामीले के कति त्याग गर्यौँ, त्यो महत्वपूर्ण कुरा हो । गैरसरकारी, सरकारी संस्थाले मात्र होइन, व्यक्तिले पनि बिल्कुल मानवीय भावनाले आफूले सक्दो सहयोग गर्नुपर्छ ।’
मूल रुपमा मौलिक हकको प्रत्याभूति गर्नेलगायतको कामको जिम्मेवारी सरकारकै भएपनि सरकारको ध्यान पुग्न नसकेको र सामर्थ्य नहुँदा सामाजिक संस्थाको सहायता जरुरी पर्ने उहाँको भनाइ थियो ।
प्रधानमन्त्रीले केही दिऊँ भन्ने र सहयोगात्मक भावनाको विकास गर्ने तथा त्यस्ता सहयोगी संस्थाको संयोजन र परिचालन समाज कल्याण परिषद्ले गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारी तथा गैरसरकारी संस्थाले गलत काम गरेको गुनासो बढेको भन्दै पञ्चायतकालीन ऐन खारेज गरी नयाँ ल्याउन लागिएको जानकारी दिनुभयो ।