
चितवन, असार १६ । चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जिप नचल्ने भएको छ ।
पर्यटकलाई निकुञ्ज घुमाउन प्रयोग गरिने जिप वर्षात् सुरु भएसँगै बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए ।
उनले भने–‘बाटो हिलो र खाल्डाखुल्डीसँगै झाडी बढेकाले जिप सन्चालनमा रोक लगाउन लागिएको हो ।’
निकुञ्जभित्र घुम्नका लागि सौराहाबाट ३२, कसराबाट १५, भिम्लेबाट १५ र अमलटारी क्षेत्रबाट सातओटा जिप निकुञ्जमा छिर्ने गर्दछन् । ती जिपमा पर्यटक राखेर निकुञ्जको भित्री भाग घुमाउने गरिन्छ ।
निकुञ्ज प्रवेशवापत एउटा जिपले एकपटकमा रु पाँच हजार राजस्व तिर्ने गर्दछन् भने प्रतिव्यक्ति नेपालीले रु १५०, सार्क मुलुकका पर्यटकले रु एक हजार र विदेशीले रु दुई हजार राजस्व बुझाउने गर्दछन् ।
ढकालले दसैंअगाडि भित्री सडक मर्मत गरी जिप सन्चालनको अनुमति दिइने जानकारी दिए ।
निकुञ्जको मुख्य आम्दानीमा पर्यटकको राजस्व पर्ने गर्दछ ।
यस वर्ष जेठसम्ममा रु २७ करोड राजस्व संकलन भइसकेको छ । हरेक वर्ष दुई लाख हाराहारी पर्यटक निकुञ्ज घुम्न आउने गर्दछन् । रासस
प्रतिक्रिया दिनुहोस्