१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


भन्सारमा प्रयोगशाला अभावः फलफूल तथा हरियो तरकारी भन्सारमै थन्कियो


0
Shares

-ध्रुब भट्टराई/ईमेज

विराटनगर । सरकारले भारत तथा तेस्रोे मुलुकबाट विषादी परीक्षणपछि मात्र फलफूल तथा तरकारी आयात गर्नुपर्ने भनिए पनि आवश्यक उपकरण नहुँदा विराटनगरको रानी भन्सारमा समस्या देखिएको छ । जीवनाशक विषादी जाँचपास नहुँदा फलफूल तथा हरियो तरकारी भन्सारमै थन्किएका छन् ।

सरकारले विषादी परीक्षण गरी खानयोग्य रहेको प्रमाणित भएपछि मात्र आयात गर्न पाइने व्यवस्था गरेपछि विषादी परीक्षण नगरी भारत तथा तेस्रो देशबाट ल्याइएका तरकारी र फलफुल सीमामा रोकिएका हुन् ।

विषादीको अवशेष परीक्षण प्रतिवेदन नभएका ट्रकको भन्सार जाँचपास रोकिएकाले फलफूल र तरकारीको आयात एकसातादेखि ठप्प भएको रानी भन्सार प्रमुख भन्सार अधिकृत मीमांश अधिकारी बताउँछन् ।

विराटनगरमा विषादी परीक्षण गर्ने निकाय नभएका कारण तरकारी र फलफूल आयातकर्ताले परीक्षण गराउनसमेत पाएका छैनन् ।

विराटनगरमा प्लान्ट क्वारेन्टाइन कार्यालय भए पनि  विषादी परीक्षणको काम आफ्नो क्षेत्राधिकारभित्र नपर्ने  र कुनै निर्देशन पनि नआएको कार्यालय प्रमुख अरुणकुमार घिमिरे बताउँछन् ।

भन्सारमा रोकिएका फलफूल र तरकारीको नमूना परीक्षण हुन नसकेपछि धेरै ब्यापारीले फिर्ता गर्न थालेका छन् । भन्सार कार्यालयकाअनुसार तरकारी र फलफूल जाँचपास गर्ने अधिकार विषादी अन्वेषण द्रुत विश्लेषण इकाइ कालिमाटी र झापाको विर्तामोडलाई मात्र छ ।

आयात प्रतिस्थापन गरी स्वदेशी उत्पादन बढाउने उद्देश्यले सरकारले तरकारी तथा फलफुल आयातमा कडाइ गरेको हो ।

सरकारले गरेको यो निर्णयलाई धेरैले स्वागत गरेका छन् । तर व्यापक तयारी बिना नै गरिएको हुँदा कार्यान्वयनमा भने आशंका देखिएको छ ।