१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


नेपाल टेलिकमले शुरु गर्‍यो ‘एनटी सूचनाको संसार’ सेवा


0
Shares

काठमाडौं, असार १५ । नेपाल टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवा शुरु गरेको छ । टेलकमले विश्वव्यापी विकास संस्था भियामोसँग साझेदारी गरी ‘एनटी सूचनाको संसार’ सेवा आइतबारबाट उपलब्ध गराएको हो ।

यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत कल गरेर कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क रुपमा लिन सकिन्छ ।

नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी यो सेवा उपभोग गर्न सकिन्छ । यसरी कल गर्दा मोबाइल प्रयोगकर्ताहरु नेपाली भाषाको माध्यमबाट सूचनाको संसारमा जोडिन सक्छन् ।

यसको माध्यमबाट कृषि, स्वास्थ्य, समाचार, मौसम र विपत् तयारीजस्ता विषयमा आवश्यक जानकारी लिन सकिने जनाइएको छ । सार्वजनिक सेवाका लागि आवश्यक यस सम्बन्धी विभिन्न जानकारीहरु भियामोले विभिन्न विशेषज्ञहरुको सहयोगमा तयार पारेको जनाइएको छ ।

जानकारीहरु नेपाली भाषामा सुन्न पाइने हुनाले यो सेवाबाट कुनै पनि उमेर समूहका साक्षर वा निरक्षर सबै नेपाली लाभान्वित हुने विश्वास गरिएको छ । निकट भविष्यमा सुशासन र आर्थिक साक्षरतालगायतका थप शीर्षकहरु समेत यसमा समावेश गरिने टेलिकमले जनाएको छ ।

टेलिकमले यो सुविधा हाललाई ६ महिनाको लागि निःशुल्क उपलब्ध गराएको छ ।