
लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा विभिन्न मितिमा थप १ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ ।
यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ ।
योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १७ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक संजिव सापकोटाले बताउनुभयो ।
स्वास्थ्य समितिका अनुसार यो साता यूके, स्पेन र भारत, लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ भने ब्राजिल र युगाण्डामा पनि नयाँ संक्रमण देखा परेको छ ।
समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कोरोना भाइरसका कारण हालसम्म अमेरिका, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् ।
यस्तै नेपालमा मात्र ६२ हजार ७ सय ९७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ४५ हजार २ सय ६७ जना कोरोना मुक्त भएका छन् ।
यो कुल संक्रमितको ७२ दशमलव ०८ प्रतिशत हो । हालसम्म नेपालमा ४ सय २ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
कोरोना संक्रमणका कारण नेपाल सहित विश्वभर जम्मा ६ सय ४५ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।
यस्तै विश्वभर १ लाख ८ सय ३१ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ७९ हजार ७ सय ८२ जना कोरोना मुक्त भएका छन् ।
नेपाल सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७० दशमलव ५ प्रतिशत रहेको छ ।
६९ हजार २ सय ८९ जनाको उद्धार
कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ ।
हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २ सय ८९ जनाको उद्धार गरिएको छ ।
एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन जारी
शनिबार साँझ औपचारिक उद्घाटन भएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन जारी छ ।
शुक्रबारदेखि नै अनौपचारिक रुपमा सुरु भएको सम्मेलनको औपचारिक उद्घाटन पूर्व स्वास्थ्यमन्त्री गगन थापा, गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष कुमार पन्त तथा राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राईले संयुक्त रुपमा गर्नु भएको हो ।
समितिका अध्यक्ष एवं सम्मेलन संयोजक संजिव सापकोटाले प्रथम विश्व स्वास्थ्य सम्मेलनको ऐतिहासिक महत्वलाई निरन्तरता दिन दोस्रो सम्मेलन तय गरिएको बताउनुभयो ।
सम्मेलनले संसार भरीका स्वास्थ्यकर्मी, उनीहरुको चुनौती र अवसर, युवाहरुको स्वास्थ्य, महामारीमा सञ्चारमाध्यमको भूमिका लगायत विषयमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
सम्मेलनले जारी गर्ने घोषणा पत्रले स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । ३ दिने सम्मेलन विश्व नेपाली स्वास्थ्य घोषणा पत्र जारी गर्दै आइतबार सकिनेछ ।
एनआरएनएद्वारा गैरआवासीय नेपालीलाई सहयोग
गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना महामारीका कारण समस्यामा परेका १ लाख ५० हजार गैरआवासीयलाई प्रत्यक्ष रुपमा सहयोग पुर्याएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको दोस्रो विश्व स्वास्थ्य सम्मेलनको उद्घाटनसत्रमा बोल्दै संघका महासचिव डा हेमराज शर्माले कोरोना भाइरस संक्रमण सुरु हुने बित्तिकै एनआरएनका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा उच्चस्तरीय कमिटी गठन गरी योेजनाबद्ध रुपमा अगाडी बढेको र समस्यामा परेका नेपालीलाई घरैमा पुगेर समेत सहयोग गरेको बताउनुभयो ।
डा शर्माका अनुसार करिब ५० देशमा २१ सय भोलेन्टियर्सहरु खटिएका छन् । एनआरएनएले कोरोनाका कारण समस्या परेका १ लाख ५० हजार गैरआवासीय प्रत्यक्ष सहयोग गरेको जनाएको छ ।
सहयोगमा स्वास्थ्य समाग्रीदेखि खाद्यान्नसम्म छ । गैरआवासीय नेपालीहरुबाट नै १२ करोड संकलन गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्चिइएको छ ।
प्रतिक्रिया दिनुहोस्