
काठमाडौं, असार १५ । नेपाल कृषि अनुसन्धान परिषद, बाली विज्ञान महाशाखाले राष्ट्रिय धान दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमका सहभागी कृषि विज्ञहरुले कृषि उत्पादन बढाउँदै आयात कम गर्न सरकार उदासिन बनेको गुनासो गरे । धान उत्पादन र मागबीच सन्तुलन नभएकाले नयाँ प्रविधिबारे कृषकलाई जानकारी गराउनुपर्नेमा उनीहरुको जोड थियो ।
कार्यक्रममा परिषदका निर्देशक डा. रामबाबु पनेरुले नेपालमा वर्षेनि २५ अर्व बराबरको धान आयात हुने गरेको भन्दै उत्पादन बढाउन राष्ट्रियस्तरमै कार्यक्रम ल्याउनुपर्ने बताए ।
धान खेती गर्ने जमिनमध्ये झण्डै ४० प्रतिशत शहरीकरणमा परिणत भइसकेको उनको भनाइ थियो । नेपालको कुल ग्राहस्थ उत्पादनमा धानले ७ प्रतिशत हिस्सा ओगटेको छ । सरकारले आगामी आर्थिक वर्षमा ७० लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य लिएको छ । यो चालु आर्थिक वर्षको तुलनामा १५ लाख मेट्रिक टन बढी हो ।
प्रतिक्रिया दिनुहोस्