१६ श्रावण २०८२, शुक्रबार | Sat Aug 2 2025


राष्ट्रिय श्रम तथा रोजगार सम्मलेन सुरु


0
Shares

                                             तस्वीर : रासस

काठमाडौं असार १५ । राष्ट्रिय श्रम तथा रोजगार सम्मलेन काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सम्मेलन उद्घाटन गर्दै आफ्नो कार्यकालमा बेरोजगारी र गरिबी अन्त्य हुने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रोजगार प्रवर्द्धन गर्नका लागि शिक्षा नीतिमा परिवर्तन गरी कृषिको आधुनिकीकरणमा जोड दिन सरकार लागिपरेको उनको भनाइ थियो । शैक्षिक प्रमाणपत्रले रोजगारी सिर्जना गर्दै समस्या समाधान गर्नसक्ने हुनुपर्ने प्रधानमन्त्री ओलीले बताए ।

कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै कृषिमा संलग्न श्रमिकको सिप विकास गरी उद्योग, सेवा र व्यापारको क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकार आन्तरिक रोजगारी सिर्जनामा लागि परेको भन्दै वैदेशिक रोजगारीलाई पनि व्यवस्थित बनाइने बताए ।

सन् २०३० सम्ममा ६८ लाख व्यक्तिलाई रोजगारी दिने गरी श्रम र उत्पादनलाई जोड्न सम्मेलनले सहयोग पु¥याउने उनको भनाइ थियो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा श्रम तथा रोजगारका क्षेत्रमा सरकारले चाल्नुपर्ने कदम, निर्माण गर्नुपर्ने ऐन, कानून, नीतिलगायत विषयमा छलफल हुनेछ । श्रम, रोजगार क्षेत्रका चुनौती, रोजगारी तथा सीपको सम्भाव्य क्षेत्र पहिचान गर्ने विषयमा पनि छलफल हुने श्रम मन्त्रालयले जनाएको छ ।

सम्मेलनबाट प्राप्त सुझावका आधारमा श्रम तथा रोजगार क्षेत्रमा थप रणनीतिक कार्यक्रम सञ्चालन गर्न सघाउ पुग्ने सरकारको विश्वास छ । सम्मेलनमा सरकारी निकाय, निजी क्षेत्र, विभिन्न ट्रेड युनियन, श्रम तथा रोजगार क्षेत्रका विज्ञ, विकासका साझेदार र गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता छ ।