८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023


नेपाल–भारत जल यातायात सन्चालनका लागि संस्थागत संरचना गठन गर्ने सहमति


0
Shares

काठमाडौं, साउन १ । नेपाल–भारत जल यातायात सन्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ ।

जल यातायात सन्चालन सम्बन्धमा नेपाली पक्ष र भारतीय पक्षबीच भएको वार्तामा अध्ययन टोलीहरुको स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा संस्थागत संरचना बनाउने सहमति भएको हो ।

वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणकाक्रममा नेपाल तथा भारतबीच जारी संयुक्त वक्तव्यमा उल्लेखित ‘इनल्यान्ड वाटर वे कनेक्टिभिटी’ सम्बन्धमा नेपालमा र भारतमा यसका सम्भावना र अवसरहरु सम्बन्धमा छलफल भएको थियो ।

वार्ता गर्न भारतीय अन्तर्देशीय जलमार्ग प्राधिकरणका उपाध्यक्ष प्रवीर पाण्डे नेतृत्वमा आएको टोलीसँग जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्बासे नेतृत्वको टोलीले जल यातायातका विभिन्न आयाम तथा सम्भावनाको सम्बन्धमा छलफल गरेको हो ।

नेपाली टोलीका तर्फबाट नेपालमा जल यातायातको सम्भावना र हालसम्मका गतिविधि सम्बन्धमा प्रस्तुति गरिएको थियो ।

भारतीय पक्षबाटसमेत जलमार्ग सम्बन्धमा विशेषगरी जलमार्ग विकास परिमार्जनअन्तर्गतको कोलकाताबाट वाराणसीसम्मको एक हजार ४०० किमि लम्बाइमा भइरहेको जल यातायातसम्बन्धी गतिविधि तथा गन्डक (एनडब्लु (३७) (नेपालका नारायणी) तथा कोसी नदी (एनडब्लु ५८) मा जल यातायातको सम्भावना तथा गतिविधिसम्बन्धी प्रस्तुति गरिएको जल तथा ऊर्जा आयोगको सचिवालयले जनाएको छ ।

नेपालमा जल यातायात नारायणी र कोसीमार्फत् गंगा नदीसँगै जोडिँदै भारतको हल्दिया हुँदै बंगलादेश र अन्य मुलुहरुसँग जोडिने प्रचुर सम्भावना रहेको र यसबाट उल्लेखनीय आर्थिक विकासमा सहयोग पुग्ने दुवै पक्ष सहमत देखिएको सचिवालयले जनाएको छ ।

वार्तामा नेपाली तथा भारतीय पक्षबाट यससम्बन्धी काम–कारबाही तुरुन्त अगाडि बढाउन दुवै पक्षबाट आ–आफ्नो तर्फको प्राविधिक टोली गठन गरी यथाशीघ्र दुवै पक्षलाई सुविधा हुने समय छनोट गर्ने सहमति भएको छ ।

नेपाली प्राविधिक टोलीबाट भारतको एनडब्लु १ (गंगा नदी) का हाल निर्माणाधीन कोलकाता हल्दिया (वाराणसी जलमार्ग खन्डको अध्ययन भ्रमण गर्ने तथा यससम्बन्धी थप अनुभव हासिल गर्ने र भारतीय पक्षको विशेषज्ञ सम्मिलित प्राविधिक टोलीबाट नेपालतर्फ कोसी तथा नारायणी नदीमा जल यातायातको स्थलगत अध्ययन गरी दुवै पक्षबीच छलफल गर्ने सहमति भएको छ ।

वार्ताकाक्रममा कोसी, गन्डकी तथा कर्णाली नदीमा जल यातायातको प्राविधिक–आर्थिक सम्भाव्यता तथा यसका विभिन्न आयाम सम्बन्धमा विस्तृत् छलफल भएको थियो ।

नेपाल तथा भारतबीच जल यातायात विकासको विधि र मोडालिटी सम्बन्धमा पनि वार्ताकाक्रममा छलफल भएको थियो ।

भारतीय पक्षबाट नेपाललाई आवश्यक पर्ने जनशक्तिलाई तालिम तथा संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक सहयोग गर्न सकिनेसमेत सहमति भएको जनाएको छ । रासस