बुलबुले उद्यानमा ४५ बर्षपछि थपिए पूर्वाधार, लकडाउनको मौकामा फेरियो स्वरुप • Image Khabar Image Khabar


बुलबुले उद्यानमा ४५ बर्षपछि थपिए पूर्वाधार, लकडाउनको मौकामा फेरियो स्वरुप


मानबहादुर वली/ईमेज
३ आश्विन २०७७, शनिबार १२:५६

बुलबुले उद्यानमा ४५ बर्षपछि थपिए पूर्वाधार, लकडाउनको मौकामा फेरियो स्वरुप


सुर्खेत । गीत संगीतले देशव्यापी चिनाएको बुलबुले उद्यानमा ४५ बर्ष पछि पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिन थालिएको छ ।

अहिलेजस्तो यातायात, सञ्चार र घुम्ने संस्कार विकास नभएको त्यस समयमा गरिएको बुलबुले उद्यानको प्रर्वद्धनात्मक प्रचार र कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले बुलबुले तालको स्वरुपमै परिवर्तन ल्याएको छ ।

लोक गीतले बुलबुले उद्यानलाई मात्र नभई सिंगो सुर्खेतलाई नै देशभर चिनाएको छ ।

२०२९ सालमा राजा वीरेन्द्र शाहको सुर्खेत भ्रमणका क्रममा तत्कालिन राष्ट्रवादी विद्यार्थी मण्डल र उत्तरगंगा स्वतन्त्र समुहले यो गीतलाई प्रस्तुत गरेका थिए । अहिले तीनै गीतकै प्रभाव हुनुपर्छ, आगन्तुक बुलबुले ताल नहेरी फर्कंदैनन ।

अहिले कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तब्यमा रारासँगै बुलबुले उद्यानलाई पनि लिइन्छ । काम विशेषले कर्णाली प्रदेश आउनेदेखि रारालाई मुख्य गन्तव्य बनाउनेले समेत यो तालमा जान छुटाउदैनन ।

वास्तवमै बुलबुले ताल सानो भए पनि यहाँको उद्यानले पर्यटकलाई लोभ्याउने गरेको छ । कोरोना कहरका कारण भएको बन्दबन्दी पनि वुलवुले तालको पूर्वाधार विकासका लागि ठुलो अवसर भएको छ ।

हाल वीरेन्द्रनगरस्थित बुलबुले ताल गुरुयोजना अनुरुप तालको क्षेत्रफल फराकिलो बनाइएको हो ।

बुलबुलेको गुरुयोजना कार्यान्वयनअन्तर्गत आर्थिक वर्ष ०७६।७७ मा उक्त काम गरिएको वन तथा वातावरण निर्देशनालय सुर्खेतका प्रदेश वन निर्देशक शिवराम अधिकारीले जानकारी दिनुभयो ।

पहिले ११ हजार वर्गमिटर रहेको ताल विस्तारपछि २८ हजार वर्ग मिटरमा फैलिएको छ । ताल वरिपरि २० वटा सोलार बत्ती राखिएको छ ।

जसले गर्दा तालको अवलोकन रात्रीकालीन समयमा पनि गर्न सकिने छ । तालमा माछा मार्नका लागि फिसिङ डाइक र डुँगा सवारीका लागि बोडिङ डाइक पनि निर्माण गरिएको छ ।

बुलबुले पर्यकीयस्थल भएकाले २ वटा सेल्फीप्वाइन्ट निर्माण गरिएको छ ।

गीत/सङ्गीतका माध्यमले बुलबुलेको प्रवद्र्धन हुन थालेको ४५ वर्ष बिते पनि यसको भौतिक विकासले भने बल्ल गति लिएको छ ।

कोरोना भाइरसको बन्दाबन्दीमा निर्माण भएको थुप्रै पुर्वाधारले आम पर्यटकका लागि बुलबुले उद्यान नयाँ स्वरुपमा देखिनेछ ।

प्रतिक्रिया दिनुहोस्