Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


प्रदेश सरकारद्वारा भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति


0
Shares

लमजुङ । गण्डकी प्रदेश सरकारद्वारा भेडा मरेका कृषकलाई भेडा नै क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

लमजुङको दूधपोखरी गाउँपालिका–१ मलेयाडाँडामा रहेको घुम्ती भेडीगोठका कृषकलाई प्रदेश सरकारले शनिबार २८ भेडा वितरण गरेको हो ।

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आकस्मिक सेवाअन्तर्गत कृषकलाई रु दुई लाख ८० हजार बराबरको सो सङ्ख्यामा भेडा सहयोग गरिएको हो ।

प्रदेशसभा सदस्य धनञ्जय दवाडीले गाउँपालिकाको जोर्नीमा एक कार्यक्रममा कृषकलाई भेडा वितरण गरेका थिए ।

उनले प्रदेश सरकारको सहयोगले कृषकको मनोबल बढ्ने बताए ।  व्यवसायमा जोखिम भए पनि विचलित नभई आफ्नो पेशामा लाग्न उनले कृषकलाई आग्रह गरे ।

दूधपोखरी गाउँपालिका–६ र दोर्दी गाउँपालिका–५ का २५ किसानले संयुक्तरूपमा ‘पतिपुरे सामुदायिक भेडापालन समूह’ गठन गरी भुम्ती भेडीगोठमा भेडापालन गर्दै आएकामा गत वैशाख २८ गते शनिबार परेको चट्याङले २८ भेडा मरेका थिए ।

भेडा मरेपछि कृषकलाई रु पाँच लाख ६० हजार बराबरको क्षति भएको दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले बताए ।

उनीहरुले सञ्चालन गरेको यस भेडीगोठमा ६४० बढी भेडा छन् । रासस