
-युवराज गौतम(ईमेज)
इलाम । नेपाली पहिरन विश्वकै लागि आकर्षक छ । नेपाली जातिय पहिरन झनै सुन्दर छन् । यीनै पहिरन लगाएर कैद भएका तस्विरले धेरैको मन खिच्छ ।
इलामको कन्याम चियाबारीमा घुम्न आउने पर्यटक यीनै जातिय पहिरन लगाएर तस्विर खिच्दै रमाइरहेका छन् ।
चिया बगान घुम्न आएकाहरु प्राकृतिक सुन्दरतामा रमाउँदै जातिय पहिरन लगाएर फोटो खिचेर मजा लिइरहेका छन् ।
पर्यटक तान्ने यो नौलो काइदा संभवत नेपालमा पहिलो पटक सुरु भएको मानिन्छ । भारतको दार्जिलिङ र सिक्किममा यस्तो चलन पुरानो हो ।
थुम्का थुम्कामा फैलिएको चिया बगानमा उभिएर सेल्फी खिच्नुको रमाइलो बेग्लै छ ।
‘हरियो कार्पेट’जस्तो देखिने चिया बगानमा खिचेको फोटो सामाजिक संजालमा अपलोड गरे लाइक र कमेन्ट थामिनसक्नु हुन्छ ।
कन्याम बगान पुगेका पर्यटक हिजोआज आफूले पहिरिएको ड्रेसमा मात्र फोटो खिच्दैनन् । विभिन्न जातजातीका मौलिक पोशाक लगाएर फोटो खिचेर रमाइरहेका भेटिन्छन् ।
राई, लिम्बु, शेर्पा, नेवार, लाप्चा, तामाङ, मगर, गुरुङ, सुनारलगायतका मौलिक पहिरन लगाएर फोटो खिच्नेको कन्याममा ओहिरो लागिरहेको पाइन्छ ।
किनकी यतिबेला कन्याममा परम्परागत पहिरन पर्यटकको रोजाइमा पर्न थालेको छ ।
यस्ता परम्परागत पहिरनका लागि पोशाक सेन्टरहरु प्रशस्त खुलेका छन् । जहाँ विभिन्न जातिका पोशाक देखि गहनासम्म उपलब्ध छन् ।
एउटा ड्रेस लगाएर तस्विर खिचेको समय अनुसार एकसय देखि दुईसय रुपैंयाँसम्म शुल्क लिने गरेको ब्यवसायीहरु बताउँछन् ।
आदिवासी जनजातिको पोशाक चिनाउन र पर्यटन प्रवद्र्धन गर्न यस्ता किसिमका ‘कल्चर ड्रेस’को महत्व बढ्दै गएको व्यवसायीहरुको भनाइ छ ।
घोडचढीमा रमाउन चियाबारीमा फोटो खिच्न, पिकनिकमा रमाउन, सूर्योदय दृश्यावलोकन गर्न, टि गार्डेन हाइकिङ गर्न र चियाको महत्व बुझ्न सूर्योदय नगरपालिकाको कन्याम धेरैको रोजाइ बन्दै गइरहेको छ ।
प्रदेश नं १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको कन्याम पूर्वी नेपालको हनिमुन गन्तब्यका रुपमा पनि चर्चित बन्दै गइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्