१६ श्रावण २०८२, शुक्रबार | Sat Aug 2 2025


चालू आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा १२ खर्ब नाघ्यो


0
Shares

काठमाडौं, असार १४ । चालू आर्थिक वर्षको ११ महिनामै व्यापार घाटा १२ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशत बढी हो ।

यस अवधिमा कुल वस्तु आयात १२ खर्ब ९९ अर्ब पुगेको छ भने निर्यात ८७ अर्ब ८३ करोडमात्रै रहेको भन्सार विभागले जनाएको छ ।

यस अवधिमा पेट्रोलियम पदार्थ सबैभन्दा धेरै दुई खर्ब ३१ अर्बको आयात भएको छ भने स्टिल तथा फलामजन्य वस्तुहरु एक खर्ब ३२ अर्ब बराबरको आयात भएको विभागको तथ्यांक छ ।

यस्तै, एक खर्ब ९ अर्बको मेसिनरी वस्तुहरु आयात भएको छ भने ८४ अर्बको सवारी–साधान आयात भएको छ ।

यस अवधिमा १० अर्ब ९९ करोडको तरकारी तथा तेलजन्य वस्तुहरु निर्यात भएको छ ।

यस्तै, सात अर्ब ६१ करोडको चिया तथा कफी एवं सात अर्ब ५२ लाखको गलैंचा निर्यात भएको तथ्यांक विभागको छ ।

यस अवधिमा भारतसँगमात्रै सात खर्ब ८५ अर्ब बराबरको व्यापार घाटा भएको छ । चीनसँग एक खर्ब ८३ अर्ब व्यापार घाटा पुगेको छ ।

समीक्षा अवधिमा वीरगन्ज भन्सार नाकाबाट चार खर्ब ५१ अर्बको वस्तु आयात भएको छ भने भैरहवा भन्सार नाकाबाट दुई खर्ब १९ अर्ब बराबरको वस्तु आयात भएको छ ।