Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


सुदूरपश्चिमको संसद चल्न दिँदैनौं : प्रतिपक्ष


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, असार १४ । भ्रष्टाचार र लुट मच्चाउने गरी सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपा नेपालले यथास्थितिमा संसद चल्न नदिने जनाएका छन् ।

प्रदेश सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत् गरेको बजेट कार्यकर्ता पोस्ने र भ्रष्टाचार बढाउनेखालको रहेको भन्दै प्रतिपक्षले आइतबारका लागि बोलाइएको बैठकसमेत अवरोध गर्ने संकेत गरेका हुन् ।

शनिबार धनगढीमा संयुक्तरुपमा पत्रकार सम्मेनल गरी दुवै दलले यथास्थितिमा प्रदेशसभा बैठक चल्न नदिने चेतावनी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेश सरकारले प्रदेश गौरवका योजनाको बेवास्ता गरी कार्यकर्तालाई पोस्नेगरी बजेट ल्याएको आरोप लगाए ।

उनले सरकारले अगामी वर्षको बजेटमा एक हजारओटा पाँच हजारदेखि २० हजारसम्मका योजना समावेश गरिएकाले त्यसलाई सुधार नगरेसम्म बैठक चल्न नदिने चेतावनी दिए ।

राजपाका प्रदेशसभा सदस्य कृष्ण चौधरीले असन्तुलित र विभेदकारी बजेट कुनैपनि हालतमा स्वीकार्य नहुने उल्लेख गरे ।

यस्तै, उनीहरुले प्रदेशको समृद्धिसँग महत्व राख्ने योजना बजेटमा समावेश गर्न माग गर्दै सूची सार्वजनिक गरेका छन् ।

उनीहरुले वर्षौंदेखि अलपत्र परेको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको काम अगाडि बढाउन, धनगढी विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलकारुपमा विकास गर्न जग्गा खरिद र डीपीआर बनाउन, बन्द अवस्थामा रहेका प्रदेशभित्रका अरु महत्वपूर्ण विमानस्थल सुचारु गर्नका लागि आवश्यक बजेट विनियोजन गर्न माग गर्दै १६ ओटा योजना प्रस्तुत् गरेका छन् ।