५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


छिमेकी मुलुकसहितका मित्रराष्ट्रहरुसँगको सम्बन्धमा सुधार : प्रधानमन्त्री


0
Shares

काठमाडौं, असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्थायी सरकार गठनपछि दुवै छिमेकी मुलुकका साथै मित्रराष्ट्रहरुसँगको सम्बन्धमा सुधार आएको दाबी गरेका छन् ।

परराष्ट्र मन्त्रालयले शनिबार काठमाडौंमा गरेको परराष्ट्र नीतिसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले औपचारिक तथा अनौपचारिक सम्बन्धको पुनरावलोकन गरी छिमेकसँगको सम्बन्ध थप मजबुत् बनाइएको बताए ।

नेपाल र भारतका प्रबुद्ध समूहले तयार गरेको प्रतिवेदन बुझाउने वातावरण पनि तयार हुने र सम्बन्ध कसरी अघि बढाउने भन्नेमा समझदारी हुने उनले स्पस्ट पारे ।

प्रधानमन्त्री ओलीले विदेशी अनुदान र ऋणभन्दा आफ्नो प्राथमिकताअनुसार लगानीलाई प्रोत्साहित गरिने बताए ।

उनले २१औं शताब्दीमा विश्वले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखे पनि साना मुलुकले भने राजनीतिक कूटनीति पनि सँगसँगै अगाडि बढाउनुपर्ने बताए ।

प्रधानमन्त्री  ओलीले ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने अवधारणाअनुरुप परराष्ट्र नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।

देशभित्रको शान्ति, क्षेत्रीय शान्ति तथा अन्तर्राष्ट्रिय शान्तिलाई प्राथमिकतामा राखी नीति निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले १९औं सार्क शिखर सम्मेलन आयोजनाका लागि भूमिका खेल्ने बताए ।

उनले मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई सुढृढ बनाउन आगामी दिनमा पनि उच्चस्तरीय भ्रमणको आदान–प्रदान गरिने बताए ।

कार्यक्रममा सहभागी पूर्वपरराष्ट्रमन्त्री, परराष्ट्रविद्, अर्थविद्लगायतले बदलिँदो भूराजनीति, छिमेक नीति, आर्थिक कूटनीति, बदलिँदो क्षेत्रीय तथा बहुपक्षीय मामिलामा नेपालको भूमिका र उदीयमान मुद्दाका विषयमा सुझाव दिएका थिए ।