
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरण जोगाउन वृक्षारोपण आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा आज काठमाडौंको कोटेश्वरमा नास्पातीका बिरुवा रोप्दै प्रधानमन्त्री ओलीले स्वच्छ र हराभरा वातावरणका लागि वृक्षारोपण आवश्यक रहेको बताएका हुन ।
वातावरण विनाशबाट मानव संकट उत्पन्न हुने गरेको भन्दै उनले वातावरण जोगाउन पनि वृक्षारोपणमा सरिक हुन आह्वान गरे ।
उनले तीन वर्षभित्र फलफूलका ३ करोड करोडसहित देशभर ५ करोडको हाराहारीमा विरुवा रोप्ने सरकारको लक्ष्य रहेको जानकारी दिए ।
कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शहरमा हरियाली बढाउन बृक्षारोपण अभियान थालिएको बताए ।
वनजंगल विनाशबाट मानवीय संकट उत्पन्न हुने भन्दै उनले वातावरण जोगाउन एक व्यक्ति एक विरुवा हुर्काउन आह्वान गरे ।
सरकारले असार १४ लाई ‘राष्ट्रिय वृक्षारोपण दिवस’ घोषणा गर्दै वृक्षारोपण अभियान सुरु गरेको हो ।
वन तथा भू–संरक्षण मन्त्रालयको पहलमा आज काठमाडौको कोटेश्वर–कलंकी चक्रपथ खण्डमा एक साथ करिब तीन हजार विभिन्न प्रजातिका विरुवा रोपिएको छ
सरकारले सन् २०१८ को जुन ५ देखि ‘एक नागरिक एक फलफूलका बिरुवा रोपण अभियान’ शुभारम्भ गरेको थियो ।
सो अभियान सफल बनाई मुलुकलाई फलफूलमा आत्मनिर्भर एवं निर्यातयोग्य बनाउन प्रत्येक वर्ष असार १४ गते फलफूललगायतका बिरूवा रोपण गरी देशव्यापी रूपमा राष्ट्रिय वृक्षारोपण दिवस मनाउने सरकारको निर्णय छ ।
लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिकस्थल, सडक किनारा, नदी उकासका क्षेत्र, हैसियत बिग्रिएका वनक्षेत्रमा समेत फलफूल तथा औषधिजन्य (हर्बल) बिरूवा रोपण गर्ने सरकारको तयारी छ ।
केन्द्र सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी, सातवटै प्रदेश, स्थानीय तह, विश्वविद्यालय, संस्थान, वन उपभोक्ता समिति र गैरसरकारी संस्थाहरुलाई पनि आ–आफ्नो क्षेत्रमा वृक्षरोपण गर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्