
काठमाडौं । सरकारले आजबाट देशभर वृक्षारोपण अभियान सुरु गरेको छ । सरकारले असार १४ लाई ‘राष्ट्रिय वृक्षारोपण दिवस’ घोषणा गर्दै वृक्षारोपण अभियान सुरु गरेको हो ।
त्यसको शुभारम्भ काठमाडौंको कोटेश्वर क्षेत्रमा फलफूलका विरुवा रोपेर गरिएको हो ।
वन तथा भू–संरक्षण मन्त्रालयको पहलमा आज काठमाडौको कोटेश्वर–कलंकी चक्रपथ खण्डमा एक साथ करिब तीन हजार विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।
सरकारले सन् २०१८ को जुन ५ देखि ‘एक नागरिक एक फलफूलका बिरुवा रोपण अभियान’ शुभारम्भ गरेको थियो ।
सो अभियान सफल बनाई मुलुकलाई फलफूलमा आत्मनिर्भर एवं निर्यातयोग्य बनाउन प्रत्येक वर्ष असार १४ गते फलफूललगायतका बिरूवा रोपण गरी देशव्यापी रूपमा राष्ट्रिय वृक्षारोपण दिवस मनाउने सरकारको निर्णय छ ।
आगामी तीन वर्षभित्र ३ करोड फलफूलका विरुवा रोप्ने योजना सरकारको छ ।
लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिकस्थल, सडक किनारा, नदी उकासका क्षेत्र, हैसियत बिग्रिएका वनक्षेत्रमा समेत फलफूल तथा औषधिजन्य (हर्बल) बिरूवा रोपण गर्ने सरकारको तयारी छ ।
केन्द्र सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी, सातवटै प्रदेश, स्थानीय तह, विश्वविद्यालय, संस्थान, वन उपभोक्ता समिति र गैरसरकारी संस्थाहरुलाई पनि आ–आफ्नो क्षेत्रमा वृक्षरोपण गर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्