
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुरमा पर्ने वालुवाफाँटा गाउँ तरकारी खेतीले हरियाली बनेको छ ।
थारु समुदायको बाहुल्यता रहेको यो गाउँमा झन्डै तीन सय परिवारले वर्षभरी नै तरकारी खेती गर्ने गर्दछन् ।
१८ वर्ष पहिले स्थानीय हरिराम चौधरीले एक कठ्ठाबाट सुरु गरेको तरकारी खेती अहिले गाउँभरी फैलिएको हो ।
व्यावसायिक खेतीतर्फ लागेका चौधरीले सिंगो गाउँलाई नै यसतर्फ आकर्षित गराउन सफल भएका छन् ।
यो समुदायका महिलालाई यतिबेला काँक्रा, लौका, करेला, मुला, भिन्डि, बोडीलगायतका तरकारी टिप्न भ्याइ नभ्याइ भएको छ ।
यहाँ उत्पादित अधिकांश तरकारी बैलगाडा, मोटरसाइकल र टाउँमा बोकेर कैलालीको अत्तरियामा लगेर बिक्री गर्ने गरिन्छ ।
तर पछिल्लो समय उत्पादन बढ्न थालेकाले भारतबाट आउने तरकारीले गर्दा बजारको समस्या हुन थालेको किसानको गुनासो छ ।
यता कृष्णपुर नगरपालिकाले पनि यहाँका किसानलाई तरकारी खेतीमा प्रोत्साहित गर्न विभिन्न अनुदान तथा सहुलियत दिएको जनाएको छ ।
अनुदान र सहुलियतको साथै बजारको पनि उचित प्रबन्ध मिलाउन पहल गरिदिनुपर्ने स्थानीयको माग छ ।
प्रतिक्रिया दिनुहोस्