६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


बुर्तिवाङमा रहेको बसपार्क अतिक्रमणको चपेटामा


0
Shares

-डम्बर बहादुर बुढाथोकी/ईमेज

बाग्लुङ । जग्गा अतिक्रमण गरी भवन निर्माण गरिएपछि बाग्लुङको बुर्तिबाङमा रहेको बसपार्क साँघुरो बन्दै गएको छ ।

सवारीको चाप दिनदिनै बढ्दै गए पनि अतिक्रमणले पाँच रोपनी क्षेत्रफलमा फैलिएको बसपार्क ३ रोपनीमा खुम्चिएको हो ।

बागलुङको बुर्तिबाङस्थित बसपार्कबाट बुटवल, बागलुङ, पोखरा, काठमाण्डौ, रुकुम, रोल्पा लगायतका स्थानमा सवारी आवतजावत गर्न थालेपछि सवारी साधनको चाप निकै बढेको छ ।

बसपार्कका लागि साविकको बुर्तिबाङ गाविसले झण्डै साढे पाँच रोपनी जग्गा लिएर बसपार्क निर्माण गरेको थियो ।

तीव्र गतिमा जनसंख्या वृद्धि र बजारीकरण हुँदै गएपछि अहिले बसपार्कको जग्गा साढे तीन रोपनीमा सीमित हुन पुगेको छ ।

बसपार्क साँघुरो भएपछि गाडीहरु बजार क्षेत्रमा अस्तव्यस्त तरिकाले पार्किङ गरिएको छ ।

दैनिक सानादेखि गरी ३ सय ५० देखि ४ सयसम्म सवारी साधन आवतजावत गर्ने बसपार्कमा अहिले मुस्किलले ४०/५० गाडी मात्र पार्किङ गर्न सकिन्छ ।

बसपार्क साघुरिँदै गएकाले पार्किङमा समस्या भइरहेको यातायात व्यवसायीको भनाइ छ ।

दिनप्रतिदिन बसपार्क साँघुरिँदै गएपछि ढोरपाटन नगरपालिकाले बजारभन्दा केही तल खप्टरीबाङमा बसपार्कको लागि जग्गा खरिद गरेको नगरपालिकाका मेयर देव कुमार नेपाली बताउँछन् ।

बागलुङको पश्चिम भेगको केन्द्रका रुपमा रहेको यस बसपार्क खुम्चिँदा चालकलाई मात्र होइन पैदल यात्रु र स्थानीयलाई समेत समस्या भएको  छ ।