
काठमाडौं, असार १३ । सगरमाथा इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ८६ प्रतिशत बोनस सेयर दिने भएको छ ।
कम्पनीको शुक्रबार राजधानीमा सम्पन्न २२औं वार्षिक साधारणसभाले ८६ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको हो ।
बोनस सेयर जारीसँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब १२ लाख रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन प्रस्तुत् गर्दै अध्यक्ष रामकृष्ण मानन्धरले यस अवधिमा कम्पनीले एक अर्ब ८३ करोड ७९ लाख प्रिमियम संकलन गर्न सफल भएको जानकारी गराए । यो अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी हो ।
नेपाल वित्तीय मान (एनएफआरएस)अनुसार यस अवधिमा कम्पनीले ३३ करोड २९ लाख खुद नाफा गर्न सफल भएको छ ।
यस्तै, चालू आर्थिक वर्ष २०७५/७६ को असारको पहिलो सातासम्म कम्पनीले दुई अर्ब बढी बिमा प्रिमियम संकलन गरिसकेको र चालू वर्षको अन्त्यसम्म दुई अर्ब १५ करोड बढी प्रिमियम संकलन हासिल हुने अनुमान गरिएको अध्यक्ष मानन्धरले बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बिमा कम्पनीमध्ये सगरमाथा इन्स्योरेन्स एनएफआरएस कार्यान्वयनमा ल्याउने पहिलो कम्पनी रहन सफल भएको बताए ।
सगरमाथा भीआइपी, इन्स्योरेन्स डिजिटल्लीलगायतका योजना सन्चालनमा ल्याएको कम्पनीले प्रविधिको भरपूर प्रयोग गर्दै आगामी दिनमा पनि यस्तैखालका योजना ल्याउने उनले बताए ।
५७ ओटा शाखा–उपशाखा कार्यालयबाट बिमा सेवा दिँदै आएको कम्पनीले चालू वर्षको अन्त्यसम्म शाखा संख्या ८५ ओटा पुर्याउने योजना बनाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्