
संयुक्त राष्ट्रसंघ, असार १३ । सुडानको डार्फरमा तैनाथ राष्ट्रसंघीय शान्ति सैनिकको म्याद अरु चार महिना थप्न सुरक्षा परिषद्ले स्वीकृति दिएको छ ।
राष्ट्रसंघ सुरक्षा परिषद्ले डार्फरमा ‘युनामिड’को म्याद आगामी अक्टोबर ३१ सम्ममात्र थप गरेको हो ।
यसअघि, डार्फरमा तैनाथ शान्ति सेनाको म्याद एक/एक वर्ष थप्ने गरिएको थियो ।
साथै, एक वर्षअघि शान्ति मिसनमा कार्यरत् सैनिकको संख्या कटौती गर्ने निर्णय भएपनि त्यसलाई यथावत् राखिएको छ ।
सन् २०१८ को जुलाईमा बसेको सुरक्षा परिषद् बैठकले एक प्रस्ताव पारित गरी डार्फर मिसन सन् २०२० को जुन महिनाबाट हटाउनसक्ने निर्णय गरेको थियो ।
तर, सुडानमा भएका पछिल्ला राजनीतिक घटनाक्रमले शान्ति मिसन बन्द गर्न वा शान्ति सेनाको संख्या कटौती गर्न निकै कठिन रहेको सुरक्षा परिषद्को प्रतिवेदनमा उल्लेख छ ।
गत अप्रिल ११ मा सुडानका राष्ट्रपति ओमार अल बासिरविरुद्ध राष्ट्रव्यापी प्रदर्शन तीव्र भएसँगै सेनाले नै बासिरलाई सत्ताच्यूत गरेपछि सुडानको स्थिति निकै कमजोर बनेको छ । अहिले संक्रमणकालीन सैनिक परिषद्ले मुलुकको शासन सन्चालन गरिरहेको छ ।
सुडानमा तैनाथ शान्ति मिसनबाट सैनिक कटौती गर्न सुडानमा अन्तर्राष्ट्रियरुपमै मान्यताप्राप्त सरकार गठन हुनुपर्ने राष्ट्रसंघीय सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रले बताएका छन् । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्