यस्ता छन्, मन्त्रिपरिषद् बैठकका निर्णय « Image Khabar


यस्ता छन्, मन्त्रिपरिषद् बैठकका निर्णय


रासस
३० भाद्र २०७७, मंगलवार २१:१७

काठमाडौं, भदौ ३० । सरकारले असोज १ गतेदेखि आन्तरिक हवाई उडान र लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेदेखि हवाई उडान र लामो दूरीका यातायात बन्द थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले उक्त जानकारी दिनुभयो ।

उहाँकाअनुसार यसरी लामो दूरीका यातायात सञ्चालन हुँदा ५० प्रतिशतसम्म बढी भाडा यात्रुबाट व्यवसायीले लिन सक्नेछन् ।

हवाईजहाजको भाडा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोक्ने जनाइएको छ ।

आन्तरिक हवाईजहाज र लामो दूरीका यातायातका साधनले स्वास्थ्यका मापदन्ड पूरा गरी सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्न पाउनेछन् ।

‘स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखेर हामीले लामो समयसम्म आवगमन रोक्यौं । अनन्तकालसम्म आवागन रोक्न सकिँदैनथ्यो’-परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो-‘त्यही भएर हवाई र लामो दूरीका यातायातका साधनलाई निश्चित मापदन्ड लागू गरेर खुला गरेका छौं ।’

लामो समयसम्म हवाईजहाज र लामो दूरीका यातायात सञ्चालन नहुँदा यात्रु र सञ्चालकलाईसमेत कठिनाइ परेकाले सञ्चालन गर्न थालिएको उहाँले बताउनुभयो ।

सिटमा एकजनामात्र राख्ने पाइने, यात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने तथा स्यानिटाइजर र भौतिक दूरी कायम राखेर हवाई र लामो दूरीका यातायात सञ्चालन गर्न पाइने भएको छ ।

सवारीचालक र सहचालकले अनिवार्यरुपमा मास्क र पञ्जा लगाउनाका साथै सवारी-साधनले दैनिक निर्मलीकरण गर्नुपर्नेछ ।

लामो दूरीका यातायातका लागि भौतिक तथा पूर्वाधार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप मापदन्ड बनाउन सक्ने निर्णय गरिएको छ । सोको अनुगमन यातायात व्यवस्था विभाग र ट्राफिक कार्यालयले गर्ने जनाइएको छ ।

लामो सयमदेखि हवाई उडान बन्द भएको कारणले हवाई सञ्चालक अप्ठयारोमा परेकोले सञ्चालन गर्न अनुमति दिइएको उहाँले जानकारी दिनुभयो ।

यात्रु चढ्ने र ओर्लने बेलामा ढोकामा स्यानिटाइजर प्रयोग गर्नुपर्नेछ ।

विमानचालक र सहचालक र अन्यले मास्क, पञ्जाजस्ता स्वास्थ्यका मापदन्ड पूरा गर्नुपर्नेछ । हवाई उडानको अनुगमन नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।

अन्तर्राष्ट्रिय हवाई उडान अनुमति
यस्तै, अन्तर्राष्ट्रिय हवाई उडानसम्बन्धी निर्णय पनि सरकारले गरेको छ ।

सरकारले स्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गरी संक्रमणको जोखिमको विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा पर्यटन मन्त्रालयले नियमित तथा चार्टर्ड उडानका लागि अनुमति दिनसक्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

विदेशबाट आउने यात्रुको यात्रा सुरु गर्नुभन्दा पहिले ७२ घन्टाअघिको ‘पीसीआर’ परीक्षण गर्दा ‘नेगेटिभ’ आएको अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।

असोज ३० सम्म अन्तर्राष्ट्रिय नाका बन्द
सरकारले अन्तर्राष्ट्रिय सीमानाका बन्द अवधि असोज ३० गतेसम्म कायम राख्ने निर्णय गरेको छ ।

यसअघि, भदौ ३१ गतेसम्म सीमा बन्द गर्ने निर्णय भएकामा कोभिड–१९ को संक्रमणलाई ध्यान दिँदै असोज ३० सम्म अवधि थप गरिएको ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार समस्यामा परेका नेपालीलाई भने आउनका लागि भारतसँग सीमा जोडिएका १२ प्रमुख नाकाबाट प्रवेश गर्न दिइएको छ ।

यसअघि, १० नाका खुला गरिएकामा मन्त्रिपरिषद् बैठकले थप दुई नाका इलामको पशुपतिनगर र दार्चुलाको खलंगाको नाकाबाट पनि मानिस आउनका लागि निर्णय गरेको छ ।

यस्तै, चीनतर्फको रसुवाको नाकाबाट पनि प्रवेशका लागि अनुमति दिने निर्णय सरकारले गरेको उहाँले बताउनुभयो ।

उहाँले संक्रमण बढ्दै गए स्थानीय प्रशासनलाई स्थानीय ऐनअनुसार थप निर्णय गर्ने अधिकार दिइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्