
काठमाडौं, असार ३२ । आर्थिक वर्ष २०७४/०७५ को ११ महिना अर्थात् जेठमा आएर शोधनान्तर स्थितिमा केही सुधार भएको छ ।
सरकारी खर्च वृद्धिले निक्षेप परिचालनमा सकारात्मक प्रभाव परी बजार ब्याजदरमा पनि स्थिरता आएको नेपाल राष्ट्र बैंकले जनाएको हो ।
राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/०७५ को आर्थिक स्थितिमा शोधनान्तर स्थितिमा केही सुधार आएको जनाइएको हो ।
१० महिनामा १८ अर्ब ९३ करोड रहेको शोधनान्तर घाटा ११ महिनामा ४ अर्ब ३४ करोड रुपैयाँमा सीमित रहेको जनाइएको छ ।
२०७५ जेठ मसान्तमा विदेशी विनिमय सन्चिति १०९४ अर्ब पुगेको पनि जनाइएको छ ।
समीक्षा अवधिमा मौद्रिक योगांकहरुको वृद्धि अपेक्षितस्तरमा रहेको पनि राष्ट्र बैंकले जनाएको छ ।
कर्जा प्रवाहको वृद्धिदर निक्षेप परिचालनभन्दा उच्च रहे पनि सरकारी खर्चमा भएको वृद्धि तथा विप्रेषण आप्रवाहमा आएको विस्तारले निक्षेप परिचालनमा सकारात्मक प्रभाव परेको छ । फलस्वरुप, बजार ब्याजदरमा स्थिरता आएको राष्ट्र बैंकले जनाएको हो ।
यस्तै, यस अवधिमा वार्षिक मुद्रास्फीति ४.१ प्रतिशत पुगेको छ । यस्तो मुद्रास्फीति २०७४ जेठ महिनामा २.८ प्रतिशत रहेको थियो ।
खाद्य मुद्रास्फीतिमा आएको वृद्धिका कारण अघिल्लो वर्षको तुलनामा समग्र मुद्रास्फीति बढ्न गएको जनाइएको छ ।
०७५ जेठ मसान्तमा खाद्य मुद्रास्फीति ३.० प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति १.० प्रतिशतले ऋणात्मक रहेको थियो ।
गत वर्षको तुलनामा मूलतः तरकारी, फलफूल, घ्यू तथा तेल, दुग्धजन्य पदार्थ तथा अन्डालगायतका वस्तुहरुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको जनाइएको छ ।
यस अवधिमा गैरखाद्य मुद्रास्फीति ५.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति ५.८ प्रतिशत रहेको थियो ।
यस समूहअन्तर्गतको शिक्षा, लत्ताकपडा तथा जुत्ता, फर्निचर तथा घरायसी उपकरण र घरायसी सामानलगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकाले गैरखाद्य मुद्रास्फीति कम हुन गएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्