१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


रानी नाकामा विषादी जाँचपास उपकरण नहुँदा जाँचपासको काम रोकियो


0
Shares

विराटनगर, असार १२ । विराटनगरको रानी नाकामा विषादी जाँच्ने उपकरण नहुँदा जाँचपासको काम रोकिएको छ ।

सरकारले भारत तथा तेस्रोे मुलुकबाट आयात गरिने फलफूलमा ‘क्वारेन्टाइन’ र जीवनाशक विषादी जाँचपास नियमलाई अनिवार्य गरेपनि परीक्षण गर्ने निकाय र आवश्यक उपकरण नहुँदा कार्यान्वयनमा समस्या देखिएको हो ।

गएको शुक्रबारदेखि क्वारेन्टाइन र जीवनाशक विषादी जाँचपासको काम रोकिएको छ ।

पूर्वी नेपालको प्रमुख नाका रानीमा फलफूल र तरकारी बोकेका भारतीय गाडीहरु सीमा क्षेत्रमा रोकिएका छन् ।

रानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मिमांस अधिकारीले तरकारी र फलफूल बोकेका सवारीसँग क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण रिपोर्ट नभएको र आफूहरुलाई त्यो गर्ने अधिकार नहुँदा जाँचपास रोक्नुपरेको बताए ।

आपूर्ति मन्त्रालयले तरकारी र फलफूल आयातमा जीवनाशक विषादी जाँचपास अनिवार्य गरेको छ ।

आयात प्रतिस्थापन र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले तरकारी तथा फलफूल आयातमा कडाइ गरेको हो ।

प्लान्ट क्वारेन्टिन कार्यालय विराटनगरका प्रमुख अरुणकुमार घिमिरेले नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी अनिवार्य परीक्षण गर्ने नयाँ व्यवस्था लागू गरेपनि यो आफ्नो क्षेत्राधिकारभित्र नपर्ने बताए ।

यसअघि, प्लान्ट क्वारेन्टिन कार्यालयले नेपाल भित्रिने तरकारी तथा फलफूलका लागि अनुमतिपत्र जारी गर्दै आएको थियो ।

विराटनगरको रानी नाका भएर भन्सारमा अड्केका वस्तुको नमुना परीक्षणको काम नहुँदा भारतबाट आएका धेरैजसो तरकारी र फलफूल व्यापारीहरुले फर्काउन थालेका छन् ।

सरकारले बजेट भाषणमार्फत् भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिने तरकारी तथा फलफूल अनिवार्य परीक्षण गरी खानयोग्य रहेको ल्याब रिपोर्ट प्राप्त भएपछिमात्र आयात गर्न दिने व्यवस्था गरेको छ ।