
काठमाडौं, असार १२ । नेपाल समुद्रपार निकासी पैठारी संघले एलसी खुलिसकेका सामान आयात गर्न दिन माग गरेको छ ।
संघको प्रतिनिधिमन्डलले बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई भेटी सरकारले प्रतिबन्ध लगाउनुअघि सिपमेन्ट भइसकेको, टिटी पठाइसकेको र एलसी खोलिसकेको इनर्जी ड्रिंक्स तथा अन्य वस्तु आयात गर्न दिन माग गरेको हो ।
सरकारले प्रतिबन्ध लगाउनुअघि करोडौं मूल्यको इनर्जी डिंक्स र अन्य वस्तु आयातको प्रक्रिया सुरु भइसकेको हुँदा प्रतिबन्धको निर्णय असार २ गतेअघिका एलसी, टिटी र सिपमेन्टमा लागू गर्न नहुने संघको माग छ ।
आयात प्रतिबन्धको सूचना राजपत्रमा प्रकाशित हुनुअघिका एलसी खुलेका, सिपमेन्ट भएका वा टिटी पठाइसकेका वस्तु आयातमासमेत प्रतिबन्ध लगाए व्यवसायीको करोडौं रुपैयाँ डुब्ने सो अवसरमा सचिव अधिकारीलाई जानकारी गराइएको थियो ।
सचिव अधिकारीले यस्ता समस्या समाधानमा सरकार सकारात्मक रहेको बताएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्