
काठमाडौं, असार १२ । जापानले आउँदो कात्तिकदेखि नेपाली कामदार लैजान प्रक्रिया सुरु गर्ने भएको छ ।
कात्तिकमा भाषा परीक्षा लिने र सीपका आधारमा कामदार छनोट हुने जनाइएको छ ।
जापानले पहिलो वर्ष नर्सिङ केयरलाई प्राथमिकतामा राखेको छ ।
जापानले भाषाभन्दा सीपलाई महत्व दिएकाले कामदारले सीपमा जोड दिनुपर्ने वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए ।
अक्टोबरमा हुने परीक्षामा भाषा परीक्षाको तीन गुणा सीप परीक्षालाई जोड दिइएको जनाइएको छ ।
भाषा परीक्षा दस्तुरसहित जापान जान जम्मा ४५ सय रुपैयाँ लाग्ने भुसालले जानकारी दिए । बाँकी कम्पनीले नै व्यहोर्ने जनाइएको छ ।
जापानले पहिलो वर्ष नर्सिङ क्षेत्रमामात्रै नेपाली कामदार लैजाने महानिर्देशक भुसालले जानकारी दिए ।
नेपाल र जापानबीच गएको चैत ११ गते नेपाली कामदार लैजानेसम्बन्धी सहमति भएको थियो ।
यो वर्ष जापानले कुल ६० हजार कामदार लैजाने लक्ष्य राखेकामा करिब १३ सय जना नेपालीलाई लैजाने जनाएको छ । जापानले पाँच वर्षसम्म नेपाली कामदार लैजाने जनाएको छ ।
जापान जाने कामदारको सहजताका लागि वैदेशिक रोजगार विभागले कोरियाली भाषा परीक्षा (इपीएस)जस्तै ‘जापान युनिट’ बनाएर काम गर्ने जनाएको छ ।
जापानले विभिन्न १४ ओटा क्षेत्रमा नेपाली कामदार लैजाँदैछ ।
प्रतिक्रिया दिनुहोस्