काठमाडौं, असार १२ । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले भारत र वेस्ट इन्डिज भिडिरहेका छन् ।
इंग्ल्यान्डको म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा जारी खेलमा वेस्ट इन्डिजले २६९ रनको चुनौती पाएको छ ।
भारतले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित् ५० ओभरमा ७ विकेटको क्षतिमा २६८ रन बनाएको हो ।
कप्तान विराट कोहलीले कप्तानी इनिङ्स खेलेका छन् । उनले जारी विश्वकपमा चौथो अर्धशतक पूरा गर्नेक्रममा ७२ रन बनाए ।
कोहलीले वेस्ट इन्डिजविरुद्ध ३७ रन बनाएपछि क्रिकेटका सबै अन्तर्राष्ट्रिय संरचनामा गरी ४१७ इनिङ्समै २० हजार रन पूरा गर्ने कीर्तिमान पनि रचेका छन् । कोहलीले सचिन तेन्दुलकर र ब्रायन लाराले ४५७ इनिङ्समा यो आँकडा पूरा गरेको कीर्तिमान तोडेका हुन् ।
भारतका लागि महेन्द्रसिंह धोनीले अविजित रहँदै ५६, लोकेश राहुलले ४८ तथा हार्दिक पाण्डेयाले ३८ बलमा ४६ रन बनाए ।
वेस्ट इन्डिजका केमार रोचले ३ तथा जासन होल्डर र शेल्डन कोट्रेलले समान २/२ विकेट लिए ।
जारी प्रतियोगितामा एकमात्र अपराजित टिम भारतको ५ खेलबाट ९ अंक छ । जितले भारतको सेमिफाइनल यात्रा सहज हुनेछ भने हारले वेस्ट इन्डिज सेमिफाइनल होडबाट बाहिरिने तेस्रो टिम बन्नेछ ।
अहिलेसम्म अष्ट्रेलिया सेमिफाइनलमा पुगिसकेको छ । अफगानिस्तान र दक्षिण अफ्रिका सेमिफाइनल होडबाट बाहिरिइसकेका छन् ।
वेस्ट इन्डिज ६ खेलबाट ३ अंक जोड्दै तालिकाको आठौं स्थानमा छ ।








प्रतिक्रिया दिनुहोस्