१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


सबै यातायात व्यवसायी कम्पनीमा दर्ता : मन्त्री महासेठ


0
Shares

काठमाडौं, असार १२ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सार्वजनिक यातायातमा रहेको ‘सिन्डिकेट’ अन्त्य भएको दाबी गरेका छन् ।

बिहीबार राष्ट्रियसभाको प्रत्यायोजित तथा सरकारी आश्वासन समितिको बैठकमा उनले २५ वर्षदेखिको यातायातमा रहेको सिन्डिकेट अन्त्य भएको दाबी गरेका हुन् ।

मन्त्री महासेठले यातायातसम्बद्ध समितिहरु पूर्णरुपमा खारेज भएको भन्दै सम्पूर्ण यातायात व्यवसायी कम्पनीमा दर्ता भइसकेको बताए ।

यातायात प्राधिकरण गठनसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको भन्दै उनले प्राधिकरणले नै यातायात क्षेत्रलाई व्यवस्थित गर्ने बताए ।

मन्त्री महासेठले मुलुकका विभिन्न सहर जोड्न आगामी १० वर्षमा २८०० किलोमिटर सडक निर्माण गर्ने योजनाका साथ काम भइरहेको जानकारी दिए ।

उनले ९४५ किलोमिटरको पूर्वपश्चिम विद्युतीय रेलमार्गको ‘डीपीआर’ तयार भइ बर्दिबास–निजगढ सडकखन्डको ३५ किलोमिटर ‘लिक’ बनिसकेको र अरु स्थानमा पनि काम सुरु गर्ने तयारी भइरहेको बताए ।

मन्त्री महासेठले चीनको सहयोगमा रसुवागढी–काठमाडौं र भारतको सहयोगमा वीरगन्ज–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन स्वीकृत भइ आयोजना अगाडि बढाउने विषयमा पटक–पटक छलफल भइरहेको जानकारी दिए ।

यस्तै, उनले नौबिसे–नागढुंगा सुरुङमार्ग, टोखा–छहरे सुरुङमार्ग, थानकोट–चित्लाङ मार्ग, पूर्वपश्चिम राजमार्गको स्तरोन्नति र कुलेखानी–भीमफेदी सुरुङमार्ग निर्माणको काम पनि तीव्रगतिमा अघि बढेको बताए ।