१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


मेलम्ची अझै अनिश्चित, माग पूरा नभए काम अघि बढ्न नदिने अडान (भिडियो)


0
Shares

अक्कल कुँवर र देवेन्द्र महर्जन (इमेज)

हेलम्बु (सिन्धुपाल्चोक), असार ११ । सात महिनाअघि इटालीको ठेकेदार कम्पनी सीएमसी काम छाडेर भागेपछि अन्योलमा परेको मेलम्ची खानेपानी आयोजना अझै अनिश्चित छ ।

सीएमसी भागेपछि ठप्प रहेको आयोजनाको काम सुचारु हुन सकेको छैन ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीको आश्वासनमा सरोकारवालाहरुले तत्कालका लागि काम सुचारु गर्न सहमति जनाएपनि आयोजनाको काम प्रभावकारीरुपले अघि बढ्नेमा आशंका छ ।

सात महिनादेखि इटालीको सीएमसी कम्पनी आयोजनाको काम छोडेर भागेपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजना अझै अन्योलग्रस्त छ । स्थानीय ठेकेदार, सप्लायर्स र आयोजनाका मजदुरले अझै भुक्तानी पाउन सकेका छैनन् ।

उनीहरुले आफूहरुलाई भुक्तानी र स्थानीयका माग सम्बोधन नगरेसम्म आयोजनाको दीर्घकालीन समस्या समाधान नहुने तर्क गर्दै आइरहेका छन् ।

यही सोमबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको पहलमा मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा सरोकारवालाहरुसँगको छलफलमा दुईबुँदे सहमति भएपछि आयोजनाको काम तत्कालका लागि सुचारु भएको छ ।

सहमतिमा आगामी असार २१ गतेभित्र स्थानीय ठेकेदार, सप्लायर्स र आयोजनामा काम गरेका कामदारले पाउनुपर्ने रकम भुक्तानीबारे प्रतिवेदन बुझाउने र आयोजनास्थलमा स्थानीयवासीले अवरोध नगर्ने उल्लेख छ ।

सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाइएको छ । तर, उक्त दुईबुँदे सहमतिप्रति आयोजनाका मजदुरहरुले भने असहमति जनाएका छन् ।

आयोजनास्थल रहेको हेलम्बु गाउँपालिकाका जनप्रतिनिधिले पनि स्थानीयवासीका माग सम्बोधन नगरेसम्म समस्या समाधान नहुने बताएका छन् ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले स्थानीयस्तरमा रहेको समस्याको हल नगरी आयोजना अगाडि बढाउन कठिन हुने बताए ।

स्थानीय ठेकेदार, सप्लायर्स र आयोजनाका मजदुरहरुले भुक्तानी नपाएसम्म आयोजनाको काम अघि बढ्न नसक्ने भन्दै गत सातामात्रै आयोजनाको ठेक्का पाएको श्रेष्ठ कन्स्ट्रक्सनलाई फर्काइदिएका थिए ।

असार २१ गतेभित्र माग सम्बोधन गर्नेगरी सुनुवाइ नभए फेरि काममा अवरोध गर्ने स्थानीयको चेतावनी छ ।

भिडियो हेर्नुहोस्