
विनोदसिंह विष्ट (इमेज)
बैतडी, असार ११ । भारतको उत्तराखन्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध बुधबार राति खोलिने भएको छ ।
भारतको तर्फबाट बुधबार राति १२ बजेदेखि बिहीबार बेलुका पौने ७ बजेसम्म बाँध खोलिने जानकारी आएको हो ।
यसअघि, आउँदो शुक्रबार बाँध खोलिने भनिएको थियो ।
बाँध खोलेपश्चात् महाकाली नदीमा जलस्तर बढेर तटीय क्षेत्रमा जोखिम हुने भएकाले नेपालतर्फ सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले आग्रह गरेका छन् ।
बाँध बिहीबार बेलुकासम्म खोलिने भएपनि शुक्रबारसम्म पनि पानीको सतह बढी हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्नसमेत जिल्ला प्रशासन कार्यालय बैतडीले अनुरोध गरेको छ ।
परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ ।
धौलीगंगा बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कन्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्ने गर्दछ ।
२८० मेगावाट विद्युत् क्षमताको धौलीगंगा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ ।
वि.सं. २०७० सालमा धौलीगंगाको बाँध खोल्दा दार्चुला सदरमुकाममा अर्बौं रुपैयाँको क्षति भएको थियो ।
प्रतिक्रिया दिनुहोस्