
गृष्मा राजभण्डारी र नवीन स्थापित (इमेज)
काठमाडौं, असार ११ । विभिन्न कारणले बाबु–आमाबाट बिछोडिएका ९१ जना अनाथ बालबालिका नेपाल बाल संगठनमा आश्रय लिइरहेका छन् । जसमा नवजात शिशुको संख्या १५ रहेको छ ।
तिनै नवजात शिशुहरुलाई अहिले केही मनकारी आमाहरुले आफ्नो स्तनपान गराएर जीवन दिने प्रयास गरिरहेका छन् ।
जन्म लिएकै दिन होस् वा केही महिना बितेका । सडकमा फालिएका हुन् या अस्पताल परिसरमै अलपत्र छोडिएका । यी अवोध बालबालिकाको दिनचर्या बाल मन्दिरको चार दिवारभित्रै बित्ने गरेको छ ।
साथीभाइसँग मिलेर खेल्नु अनि कहिले झगडा पनि गर्नु । सामान्य बालबालिकाको दैनिकी योभन्दा फरक नै के हुन्छ र ? हुर्केका बालबालिकाहरु त जसोतसो दिन काट्छन् । तर, केही शिशुहरु पनि छन्, जसले जन्मेदेखि नै आमाको न्यायो कोख र अमृत समान स्तनपानबाट बन्चित हुनुुपर्यो ।
आमाको स्तनपान गरिरहँदा एउटा शिशुको मुहारमा देखिने खुसी र आनन्द अलौकिक हुन्छ । बाल मन्दिरका शिशुहरु यो प्राकृतिक अधिकारबाट बन्चित थिए ।
तर, केही मनकारी आमाहरुले उनीहरुको मुहारमा खुसी फर्काउने प्रयास थालेका छन् ।
नेपाल बाल संगठनले गत फागुन १० गतेदेखि भर्खरै सुत्केरी भएका महिलालाई बाल संगठनमा आएर अनाथ शिशुहरुलाई स्तनपान गराइदिनका लागि अनुरोध गर्यो ।
जसलाई स्वीकार गरी मातृवात्सल्य सेवाभावको उद्देश्यसहित केही महिलाहरु साताको चार दिन बाल मन्दिरमा रहेका शिशुहरुलाई स्तनपान गराउन पुग्ने गरेका छन् ।
दिनमा दुईजना शिशुलाई स्तनपान गराउने महिलाहरुको संख्या बढ्दै गएको छ । अनाथ शिशुहरुलाई स्तनपान गराउँदा बेग्लै सन्तुष्टि आउने गरेको बाल मन्दिर जाने गरेकी अनिता डंगोल बताउँछिन् ।
अनिताजस्तै बाल मन्दिरमा पुगेर शिशुहरुलाई स्तनपान गराउँदै आएकी दुई सन्तानकी आमा सुबिना देउला पनि स्तनपान गराउन पाउँदा आफूलाई खुसी लागेको बताउँछिन् ।
आफ्नो सन्तानलाई स्तनपान गराइरहेकी आमालाई कुनै अपरिचित शिशुलाई पनि स्तनपान गराउनका लागि आग्रह गर्नु आफैंमा पनि गाह्रो काम हो ।
यसका लागि आफूहरुले वडा-वडामा गइ स्तनपान गराइरहेका आमाहरुलाई अनुरोध गर्ने गरेको बाल संगठनका प्रमुख बालकृष्ण डंगोल बताउँछन् ।
बाल संगठनको अभियानमा केही दयालु व्यक्तिहरु पनि जोडिएका छन् । समाजसेवी रामकुमार श्रेष्ठ पनि त्यस्तै एक पात्र हुन् । जसले स्तनपान गराउन आउने महिलाहरुलाई आफ्नै खर्चमा ल्याउने र पुर्याउने गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्