६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


प्रहरी र थुनुवा सवार भ्यान दुर्घटना, दुई थुनुवाको मृत्यु, ८ जना घाइते


0
Shares

सञ्जय कार्की (इमेज) 

रौतहट, असार १० । रौतहटको चन्द्रपुर नगरपालिका–१०, बालचनपुरमा एक टाटा पिकअप भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ८ जना घाइते छन् ।

प्रहरी र हिरासतमा रहेका थुनुवा सवार भ्यान दुर्घटना भएको हो । 

विभिन्न घटनामा पक्राउ परेकाहरुको म्याद थप गर्न मंगलबार सदरमुकाम गौर लैजानेक्रममा चन्द्रनिगाहपुरबाट करिब १० किलोमिटर पर सो भ्यान दुर्घटनामा परेको जनाइएको छ ।

दुर्घटनामा प्रहरी हिरासतमा रहेका थुनुवा चन्द्रपुर नगरपालिका–७ का २६ वर्षीय मुकेश भनिने निर्मल साह र सुनसरीको इनरुवा नगरपालिकाका ४० वर्षीय रमेशकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी सहायक निरीक्षक दिनेश चौलागाइँको ‘कमान्ड’मा ६ जना प्रहरीको टोलीसहित चारजना थुनुवाको म्याद थप गर्न लैजानेक्रममा दुर्घटना भएको हो ।

दुर्घटनामा जिल्ला अदालत गौरमा म्याद थप गर्न लगिएका चन्द्रपुर नगरपालिका–३ का १८ वर्षीय टेकबहादुर थिङ र चन्द्रपुर नगरपालिका–८ का ३९ वर्षीय कुमार गेलाल घाइते भएका छन् ।

यस्तै, प्रहरी सहायक निरीक्षक दिनेश चौलागाइँ, प्रहरी हवल्दारद्वय उमेश यादव र विनोद मण्डल, प्रहरीजवानहरु सन्जीव कार्की, अजयकुमार यादव र हरिकिशोर चौधरी पनि सो दुर्घटनामा घाइते भएका छन् ।

घाइतेमध्ये चिन्ताजनक अवस्थाका प्रहरीजवान चौधरीलाई थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज लगिएको छ ।

दुर्घटनाका अरु घाइतेको चन्द्रपुर अस्पताल चन्द्रनिगाहपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दुर्घटनामा परेको सो भ्यान अवैध काठसहित डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले केहीअघि नियन्त्रणमा लिएको थियो । पछिल्लो समय प्रहरीले प्रयोग गर्दै आएको थियो ।