रौतहटमा प्रहरी नायब उपरीक्षकसहित एकैदिन २० प्रहरीमा कोरोना पुष्टि « Imagekhabar – Online News Portal of Nepal


रौतहटमा प्रहरी नायब उपरीक्षकसहित एकैदिन २० प्रहरीमा कोरोना पुष्टि


0
Shares

रौतहट, भदौ २४ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत् प्रहरी नायब उपरीक्षकसहित २० जना प्रहरीमा एकैदिन कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

यही भदौ १० गते इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा यातनापछि मृत्यु भएका विजय रामको पक्षमा भइरहेको दैनिक आन्दोलनमा खटिँदै आएका प्रहरीमा संक्रमण देखिएको हो ।

चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा भिड नियन्त्रण गर्न दैनिक प्रहरी टोली खटिँदा आन्दोलनकारीसँग आमने-सामने भएका प्रहरीमा समेत कोरोना देखिएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका दुई प्रहरी अधिकृतसहित फिल्डमा खटिएका २० जना प्रहरीमा संक्रमण देखिएको हो ।

यसअघि, इलाका प्रहरी कार्यालय गरुडामा विभिन्न अपराधका घटनामा रहेका थुनुवामा संक्रमण पुष्टि भएको थियो ।

प्रहरी र सर्वसाधारण गरी ४१ जनाको स्वाब संकलन गरिएकोमा बुधबार २० प्रहरी र आठजना सर्वसाधारण गरी २८ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ ।

योसहित रौतहटमा बुधबार एकैदिन ५८ जनामा संक्रमण देखिएको छ ।

यमुनामाई गाउँपालिकामा १२ जना, दुर्गाभगवती गाउँपालिमा १८ र
चन्द्रपुर नगरपालिकामा २८ जना गरी ५८ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित प्रहरीहरुलाई चन्द्रनिगाहपुरमा रहेको ‘आइसोलेसन’ र ‘होम आइसोलेसन’मा राखिने जनाइएको छ ।

प्रहरी ब्यारेक र कार्यालयमा कार्यरत् प्रहरीमा संक्रमण देखिएपछि अरु प्रहरीहरुको पनि ‘कन्ट्याक ट्रेसिङ’को आधारमा स्वाब परीक्षण गरिने जनाइएको छ ।

चन्द्रनिगाहपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसेले प्रहरीसहित स्थानीयमा कोरोनाभाइरसको संक्रमण देखिएको बताउनुभयो ।