
-युवराज गौतम(ईमेज)
लखनउ । भारतमा १७ औं लोकसभा चुनाव सकिएर नयाँ सरकार बनेपछि मतदाताहरु आफ्नो दैनिक जीवनको कार्यव्यस्ततामा केन्द्रित भएका छन् । यद्यपी, चुनावी बहस भने चिया–चौतारीदेखि सम्बन्धित स्थानहरुमा चलिरहेकै छ ।
भारतको केन्द्रीय सत्ताको स्वरुप निर्धारण गर्ने मानिएको उत्तर प्रदेश(यूपी)मा पनि जनजीवन सामान्य दैनिकीमा फर्किसकेको छ । यूपीको केन्द्रविन्दु लखनउ पूरानै दैनिकीमा नयाँ योजनासहित अघि बढिसकेको छ ।
चुनावी प्रचारका लागि टाँगिएका फ्लेक्स र ब्यानरहरु केही स्थानमा बाहेक सबै ठाउँबाट हटाइएको छ । चुनावी प्रतिस्पर्धामा उत्रिएका दलहरुले चुनावताका राखेका प्रचार सामाग्रीहरु आफैं हटाउने र सरसफाइमा जुटिरहेका छन् । भित्तामा गरिएको रंग रोगनलाई पनि मेटाउने र सफाचट बनाउन प्रतिस्पर्धी दलहरु आफैं सडकमा उत्रिएको देख्न पाइन्छ ।
१४ करोडभन्दा बढी मतदाता रहेको यूपीमा २१ करोड जनसंख्या छ । ८० जना सांसदले लोकसभामा प्रतिनिधित्व गर्ने यहाँ भारतीय जनता पार्टीले आफ्नो बर्चश्व कायम राख्दै समृद्ध लखनउको अभियानमा जुटिसकेको दावी गरेको छ ।
भाजपाबाटै मुख्यमन्त्री बनेका योगी आदित्यनाथले सबै धर्म र समुदायका नागरिकलाई एकैसुत्रमा बाँधेर शान्त र समृद्ध उत्तर प्रदेशको परिकल्पनामा आफू अघि बढेको बताएका छन् । धार्मिक र सांस्कृतिक पर्यटन आफ्नो सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए ।
प्रतिपक्षमा रहेका साथै क्षेत्रीय दलहरु पनि मुख्य सहर लगनउलगायत प्रदेशस्तरमा आफ्नो प्रभाव क्रमशः विस्तार गर्ने अभियानमा छन् । प्रगतिशील समाजवादी पार्टी (लोहिया)का प्रवक्ता तथा समाजवादी चिन्तक दीपक मिश्र राजनीतिक चेतना र विकासका काममा आफूहरु सरकार सँगसँगै अघि बढ्ने बताउँछन् । ‘हामी शान्त र समृद्ध यूपीको पक्षमा सँधै क्रियाशिल छौं, सरकारलाई सुझाव दिंदै अघि बढ्नेछौं’, उनले भने ।
यद्यपी, चुनावताका राष्ट्रियता र धर्मको मुद्दालाई चर्को रुपमा उठाएको सत्तारुढ भाजपाले किसान, युवा बेरोजगारी, नोटबन्दीलगायतका मुद्दालाई कुन रुपमा अघि बढाउँछ भन्ने हेर्न बाँकी नै छ । केन्द्रीय राजनीतिमात्र होइन, शासन सत्ता संचालनमै महत्वपूर्ण हिस्सा ओगट्दै आएको यूपी प्रदेशले यसपटक पनि चर्चित अनुहारहरु चुनावी मैदानमा थिए ।
कंग्रेसबाट युपिए अध्यक्ष सोनिया गान्धी, उनका छोरा तथा कंग्रेस अध्यक्ष राहुल गान्धी, भाजपाका नरेन्द्र मोदी, भाजपाकै राजनाथ सिंह, कंग्रेसकी रिता बहुगुणा जोशी, समाजवादी पार्टीका नेता अभिषेक मिश्रा, बसपाका नकुल दुबे, केन्द्रीय कोइलामन्त्री भइसकेका श्रीप्रकाश जयसवाल, भाजपाका वरिष्ठ नेता मुरली मनोहर जोशी, उमा भारतीलगायतका नेता यूपीबाटै चुनाव उठेका थिए ।
प्रतिक्रिया दिनुहोस्