
सोल, असार ९ । अमेरिकी राष्ट्रपति डोनाल्डले ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्न लागेका छन् ।
दक्षिण कोरियाको राष्ट्रपति भवन ‘ब्लु हाउस’ले सोमबार उक्त जानकारी दिएको छ ।
ब्लु हाउसका प्रवक्ता को मिन जुङले एक पत्रकार सम्मेलनमा ट्रम्पले अगामी शनिबारबाट दक्षिण कोरियाको दुईदिने भ्रमण गर्न लागेको बताएका छन् ।
सो भ्रमणकाक्रममा ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग आइतबार भेटवार्ता गर्ने जनाइएको छ ।
यस भेटवार्ताकाक्रममा दुई देशबीच अझै गहिरो सम्बन्ध र सहयोगलगायत कोरियाली प्रायद्वीपमा निःशस्त्रीकरणको विषयमा छलफल हुने प्रवक्ताले जानकारी दिएका छन् ।
मुन र ट्रम्पकाबीच तीन महिनाभन्दा पनि कम समयमा पुनः भेटवार्ता हुन लागेको बताइएको छ । यसअघि, गत अप्रिलमा यी दुई नेताबीच भेटवार्ता भएको थियो ।
ट्रम्पले सन् २०१७ को नोभेम्बरमा दक्षिण कोरियाको राजधानी सोलको भ्रमण गरेका थिए ।
दक्षिण कोरियाको भ्रमण गर्नुअघि जापानको ओसाकामा हुने ‘जी–२०’ सम्मेलनमा शुक्रबार र शनिबार ट्रम्पले सहभागिता जनाउने जनाइएको छ ।
दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनको निमन्त्रणामा ट्रम्पको यो भ्रमण हुने लागेको ब्लु हाउसका प्रवक्ताले जानकारी दिएका छन् । रासस/सिन्हवा
प्रतिक्रिया दिनुहोस्