काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टको चार वर्षे कार्यकाल आज सकिँदै छ ।
२०७२ साल असार ९ गते नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपको कार्यकारी पदमा नियुक्त भएका विष्टले आफ्नो चार वर्षे कार्यकाल सफल भएको बताएका छन् ।
यो चार वर्ष कार्यकालमा दुई पटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गराउनु उनको सबैभन्दा बलियो पक्ष रह्यो ।
उनकै नेतृत्वमा पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद तथा मध्यपश्चिममा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको हो ।
खेलकुदको पूर्वाधार निर्माणमा यसअघिका सदस्यसचिव युवराज लामाले सुरु गरेका कामलाई विष्टले अझ महत्वका साथ अघि बढाउन सफल भए ।
आफ्नो कार्यकालमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालले उल्लेख्य सफलता हात पारेको दाबी विष्टले गरे ।
यसबीचमा भएको दक्षिण एसियाली खेलकुदमा नेपालको प्रदर्शन कमजोर रह्यो भने एसियाली खेलकुदमा एउटा रजत पदक जितेपछि विष्टले केही राहत पाए ।
नेपाल क्रिकेट संघ क्यानको अन्तर्राष्ट्रिय निलम्बन भने विष्टको कार्यकालको सबैभन्दा ठूलो कमजोरी बन्यो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले क्यान निलम्बन गरेको तीन वर्ष भइसकेको छ । अर्को महिना क्यानको निलम्बन फुकुवा हुने दाबी विष्टले गरेका छन् ।
राखेप सदस्यचिवको पदबाट विष्टको विदाई भएसँगै नेपाली खेलकुदको सबैभन्दा शक्तिशाली पदका लागि नेकपा निकट दावेदारहरुको दौडधुप पनि सुरु भएको छ ।








प्रतिक्रिया दिनुहोस्