८ श्रावण २०८२, बिहिबार | Thu Jul 24 2025


गुल्जार बनारसको नेपालसँग प्राचिन साइनो (फोटोफिचर)


0
Shares

-शब्द/तस्विरः युवराज गौतम(ईमेज)

बनारस । एकताका नेपालमा एउटा उखान प्रख्यात थियो– ‘न्याय नपाए गोर्खा जानु, शिक्षा हराए काशी ।’ नेपालसँग प्रगाढ इतिहास बोकेको उही प्राचीन नगर ‘काशी’, ‘बनारस’ अर्थात  ‘वाराणसी’ अझै गुल्जार छ । यहाँ नेपालीहरुको बसोबास पातलिंदै गएको बताइए पनि धार्मिक गन्तब्यका रुपमा भने अब्बल बन्दै गइरहेको छ ।

नेपालीका लागि शिक्षा र धार्मिक गन्तब्यका रुपमा यद्यपी कायमै छ बनारस । गंगा स्नान गरी पवित्र हुन होस् या त विश्वनाथ बाबाको दर्शन गरेर मोक्ष प्राप्ति गर्न नेपालका हिन्दुहरु बनारसलाई अब्बल मान्छन् । जैन र बौद्ध धर्मावलम्बीहरुका लागि पनि बनारस नजिक छ । त्यतिमात्र होइन, बनारस हिन्दु विश्वविद्यालयबाट सयौं नेपालीले शिक्षा आर्जन पनि गरिसकेका छन् । अझै पनि यही विश्वविद्यालयमा अध्ययन गर्न जाने नेपालीको लर्को लाग्ने गर्छ ।

सानातिना गल्ली, गाडी गुड्ने सडकमा मान्छेहरुको साम्राज्य, ‘हर्न पोलुसन’, छाडा गाई–गोरु, टेम्पु, रिक्सा र गाडाहरुको ठेलामठेल साथै अटाई नअटाईका पसलहरुका कारण भने बनारस गुल्जार नै छ । बुद्ध एयरले काठमाडौं–बनारस सीधा हवाईसेवा सुरु गरेपछि उताकालाई यता आउन र यताकालाई उता जान सहज छ । जसका कारण नेपालीहरुको सामिप्यता जोड्न हवाई सेवाले थप टेवा पुर्‍याएको स्थानीयको बुझाइ छ ।

हुनत हिन्दुशास्त्रमा काशीसँगको बेग्लै महत्व छ । श्राद्ध गर्न, आफन्तको मृत्युपछि अस्तु सेलाउन काशीको गंगा नै पुग्ने नेपालीहरु धेरै छन् । ‘काशीमा मरेपछि फेरि जन्म लिनु पर्दैन’ भन्ने विश्वासका कारण बनारस नेपालका हिन्दुहरुसँग नजिक जोडिएको बताइन्छ ।

राजनीतिक तथा साहित्यिक रुपले पनि नेपाल बनारससँग निकट छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपालका हिन्दुहरुसँग बनारसको सम्बन्ध कहिल्यै नटुट्ने दाबी गर्छन् । ‘सांस्कृतिक, साहित्यिक, राजनीतिक र धार्मिक हिसाबले नजिकिएका कारण नेपाल–बनारसको सम्बन्ध ऐतिहासिक छ,’ उनले भने ।

हुन पनि राजनीतिक रुपमा ००३ सालमा राणाविरुद्ध उत्रिएको पहिलो विद्यार्थी आन्दोलन ‘जयन्तु संस्कृतमः’ देखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा बीपी कोइरालाले बनारसलाई नै आधारभूमि बनाएको पाइन्छ । तर ०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि भने नेपाल–बनारस केही टाढिएको पाइन्छ । यद्यपी, धार्मिक रुपमा भने नेपाल–बनारस सदियौंदेखि निकट छन् ।

यता, नेपालका राजाहरुसँग बनारसको सम्बन्ध पनि भिन्न छ । राजा रणबहादुर शाहले राजराजेश्वरी मन्दिर नै किनेको इतिहास पाइन्छ । राणाहरुले पनि ठूला ठूला मलहरु निर्माण गरेको पाइन्छ । धार्मिक, सांस्कृतिक, साहित्यिक र राजनीतिक सम्बन्ध जोडिएको वनारस विस्तारै विकासको गतिमा भने दौडिरहेको प्रष्ट देख्न पाइन्छ ।