
काठमाडौं । नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको लाइसेन्स पाएको भारतीय कम्पनी जीएमआरले पाँच सय मेगावाट विद्युत बंगलादेश निर्यात गर्न बंगलादेशसँग पीपीए गर्न खोजेको छ ।
लामो समयदेखि लाइसेन्स होल्ड गरिरहेको जीएमआरले हालसम्म लगानी व्यवस्थापन समेत गर्न सकेको छैन् ।
यद्यपी पाँच सय मेगावाट विद्युत भारत हुँदै बंगलादेश निर्यात गर्न खोजिरहेको हो ।
हालै नेपाल–बंगलादेशबीच सम्पन्न सचिवस्तरिय संयुक्त सञ्चालक समितिको दोस्रो बैठकमा बंगलादेशले यस्तो जानकारी गराएको उर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी गराएका हुन ।
सो बैठकले माथिल्लो कर्णाली आयोजनाबाट उत्पादित मध्ये ५ सय मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने सम्बन्धी विषयलाई अनुमोदन पनि गरेको उनले बताए ।
जीएमआरले लगानी व्यवस्थापन गरी बंगलादेश विद्युत पठाउँन सके अन्य आयोजनाबाट समेत बंगलादेश विद्युत निर्यात गर्न सहज हुने विश्वास मन्त्रालयको छ ।
बंगलादेश र जीएमआरबीच विद्युत महसुल दरका विषयमा बाहेक अन्य विषयमा दुई पक्षबीच करिब सहमती भएको जनाइएको छ ।
संयुक्त सञ्चालक समितिको बैठकले नेपाल र बंगलादेशबीच नविकरणीय उर्जाको क्षेत्रमा सहयोग गर्ने सम्बन्धी निर्णय अनुमोदन गरेको सचिव घिमिरेले बताए ।
सन् २०१८ मा नेपाल–बंगलादेशबीच उर्जा क्षेत्रको आपसी सहयोग सम्बन्धी समझदारी कार्यान्वयन गर्न दोस्रो पटक संयुक्त सञ्चालक समितिको बैठकले असार ५ र ६ गते बंगलादेशमा बसेको थियो ।
प्रतिक्रिया दिनुहोस्