Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


काठमाडौं महानगरको महत्वाकांक्षी योजनामा के-के परे ?


0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकको उचित व्यवस्थापन गर्न चौतर्फी दबाब आएपछि आफ्नो क्षेत्रभित्र पर्ने सडकको मर्मत सम्भारका लागि ‘स्पेसल टास्क फोर्स’ गठन गरी परिचालन गर्ने नीति सार्वजनिक गरेको छ ।

केही दिनअघि काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा केही महत्वाकांक्षी योजना समेटिएका छन ।

बढ्दो वायु प्रदुषण नियन्त्रण गर्न आगामी बर्षदेखि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने नीति लिइएको छ ।

त्यसैगरी सम्भाव्य स्थानको पहिचान गरी साइकल लेन बनाउने नीति पनि अघि सारिएको छ ।

‘सम्पदा संरक्षण तथा सम्बर्द्धन र पर्यटन प्रबर्द्धनका लागि पूर्वाधार विकास’लाई जोड दिएर ल्याइएको नीति तथा कार्यक्रममा काठमाडौं भित्रको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण, सम्बर्धन गर्न ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालय तथा नेपाल पर्यटन बोर्डसँग साझेदारी कार्यक्रम संचालन गर्ने पनि उल्लेख गरिएको छ ।

विश्व सम्पदा सूचीमा रहेका हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपतिनाथ क्षेत्रलाई पर्यटकीय हबको रूपमा विकास हुने गरी विशेष कार्यको थालनी गर्ने योजना अघि सारिएको छ ।

नीति तथा कार्यक्रममा काठमाडौंमा उज्यालोको अभाव हुन नदिन ‘मेयर उज्यालो’ कार्यक्रम पनि संचालन गर्ने लक्ष्य लिइएको छ ।

त्यसैगरी निःशुल्क वाइफाई सेवा संचालनको कामलाई बिस्तार गर्ने, महानगरपालिकाको आफ्नै लगानीमा ‘मेट्रो टेलिभिजन’ स्थापना गरि संचालन गर्ने, महानगरपालिकाद्धारा संचालित मेट्रो एफएमलाई प्रभावकारी बनाउने नीति तय गरिएको छ ।

फोहोर पानीलाई प्रशोधन गर्न उचित व्यवस्था गर्ने योजना पनि महानगरपालिकाले अघि सारेको छ ।

महानगरपालिका नेतृत्वले आफुले अघि सारेका नीति तथा कार्यक्रमले काठमाडौकों विकासलाई उचाइमा पुर्याउने दाबी गरिरहँदा काँग्रेसबाट निर्वाचत उपमेयर हरिप्रभा खड्गी, श्रेष्ठ भने नीति तथा कार्यक्रममा पुरानै कुरा दोहोरिएको बताउँछिन् ।

यति बेला स्थानीय तह नीति तथा कार्यक्रम सार्वजनिक गरि बजेट प्रस्तुत गर्ने तयारीमा छन् । जनताको बढ्दो आकाँक्षालाई सम्बोधन गर्न स्थानीयत तहलाई यति बेला चुनौति पनि थपिएको छ ।