
डिबी विष्ट
बझाङ, असार ८ । बझाङमा सबै भौतिक संरचना अपांगमैत्री नभएको भन्दै अपांगता भएकाहरुले गुनासो गरेका छन् । सरकारी निकायमा सेवा लिन जाँदा आफूहरुलाई सकस भएको भन्दै उनीहरुले गुनासो गरेका हुन् ।
विद्यालय, स्वास्थ्यचौकी, प्रशासनिक संयन्त्रहरु अपांगतामैत्री नहुँदा बझाङमा अपांगता भएकाहरुले विभिन्न समस्या झेल्दै आइरहेका छन् ।
स्थानीय सरकार आइसकेपछि पनि पुरानै किसिमले भौतिक संरचना बनाएकोप्रति उनीहरुको गुनासो छ । अपांगमैत्री भवन तथा सार्वजनिक स्थलहरु नहुँदा आफूहरुले निकै समस्या भोग्नुपरेको खप्तड छान्ना गाउँपालिका करुण रोकाया बताउँछन् ।
अपांगमैत्री संरचना नहुँदाको समस्या त एकातिर छँदैछ, अर्कोतर्फ उनीहरुप्रति समाजमा गरिने व्यहार पनि अपमानजनक छ । स्थानीय तहले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर सोचाइ परिवर्तन गराउनुपर्ने पुष्प खड्काको भनाइ छ ।
यता खप्तड छान्ना गाँउपालिकाका अध्यक्ष वर्कबहादुर रोकाया स्थानीय तहले अपांगता भएका व्यक्तिहरुको आत्मसम्मान र जीविकोपार्जनको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको दाबी गर्छन् ।
२०६८ सालको जनगणनाअनुसार बझाङमा करिब ६ हजार अपांगता भएका व्यक्तिहरु छन् । अपांगता हुनु अभिशाप होइन, हरेक मानिसमा फरक फरक क्षमता हुन्छन् भन्ने कुरा सबैले आत्मसात् गर्नुपर्छ । साथै तिनै तहका सरकारले उनीहरुका लागि विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्