सर्लाही, असार ७ । सर्लाहीको हरिवनमा आउँदो सोमबारदेखि प्रदेश नम्बर–२ स्तरीय दोस्रो हरिवन मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।
हरिवन नगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा प्रदेश–२ का ८ ओटै जिल्लाका ९ टिमको सहभागिता रहने शनिबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइयो ।
प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
खेलको माध्यमबाट नगरलाई राष्ट्रियस्तरमा चिनाउन र खेलाडीको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाइँले बताए ।
प्रतियोगिता सर्लाहीको चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालयको प्रांगणमा सन्चालन हुनेछ । फाइनल खेल यही असार १७ गते हुने जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्